बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुले आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गरेका छन् । 

बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको देविहाट बुधबारे बजारमा बिगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुले विगत दुई महिनादेखि बिर्तामोड नगरपालिकाले उक्त ठाँउमा बहुतले व्यवसायिक भवन निर्माण गरिने भन्दै आकस्मिक रुपमा ३५, १५, १० र ३ दिने सूचना जारी गरेर व्यवसायीहरूलाई घर, टहरा,संरचनाहरु हटाउन  निर्देशन दिएपछि ब्यवसायीहरुले आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गरेका हुन् । 

उनीहरुले बिर्तामोडस्थित देविहाट बुधबारे बजार परिषरमा  झापाका क्रियाशिल राजनितिक दलका प्रमुख , बिर्तामोड उद्योग बाणिज्य संघका पदाधिकारी, देविहाट बुधबारे बजार निर्माणकर्ताका सहयोगीलगायतसमक्ष आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई दवाव दिन  आग्रह समेत गरेका छन् । 

 बिर्तामोड नगरपालिकाले टिडिएफ  कम्पनीको ऋण लगानीमा देविहाट बुधबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण गरिने र त्यसका लागी व्यवसाय सञ्चालन गरिरहेका घर टहरा हटाउन  भन्दै ३५ दिने सूचना जारी गरेपछि बिर्तामोड नगरपालिकाको योजना बारे थाहा भएको बताउँदै उनीहरुले  बहुतले भवन बन्ने कार्यमा आफूहरुको  पूर्ण साथ समर्थन, सहमति र सहयोग रहने तर त्यसभन्दा अगाडी आफूहरुको वैकल्पिक व्यवस्थापन गर्नुपर्नेमा जोड दिए । 

देविहाट बुधबारे बजारमा बिगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आइरहेको बताउँदै उनीहरुले आफूहरुको जीवीकोपार्जन गर्ने आधार नै व्यवसाय भएकाले वैकल्पिक व्यवस्थापन नहुँदा आफूहरुको रोजीरोटी नै गुम्ने र सडकमै आउने स्थिति सृजना हुने भएकाले आफूहरुको माग सम्वोधन गर्न उनीहरुले आग्रह गरेका छन् ।

 उनीहरुले वैकल्पिक व्यवस्थापन हुन सक्ने केहि जग्गाधनी व्यक्तिहरुसँग नगरपालिकाको अगुवाईमा प्रयास गर्दा वैकल्पिक व्यवस्थापन सम्भव हुने ठाँउहरु समेत नगर र वडालाई जानकारी दिएपनि  उक्त कुरालाई चासो नदिएर व्यवसायीहरूलाई घर, टहरा,संरचनाहरु खाली नगरे बल प्रयोग गरेर हटाउने सूचना जारी गरेर आतंकित बनाएको बताए । 

 देविहाट बुधबारे बजारका व्यवसायी अलि आलमले बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकाले टिडिएफ  कम्पनीसंग गरेको सम्झौता व्यवसायीहरुलाई देखाउनुपर्ने, टिडिएफ  कम्पनीले बहुतले व्यवसायिक भवन निर्माण गर्ने ग्यारेन्टी गर्नुपर्ने, आफूहरुलाई  वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गरे । उनले हाल देशको विषम आर्थिक अवस्था र सम्पूर्ण व्यवसायहरु धरायासी भईरहेको अवस्थामा  बिर्तामोड नगरपालिकाले व्यवसायिहरुको रोजीरोटी माथी प्रहार गरी  टिडिएफ  कम्पनीको लगानीमा बहुतले व्यवसायिक भवन निर्माण गर्ने योजनाले आफूहरु विचलित भएको बताए । 

कार्यक्रममा देविहाट बुधबारे बजार निर्माणकर्ताका सहयोगी हर्कलाल गिरीले दाता रामवावु प्रसाईंले एक विगाह तीन कठ्ठा जग्गा प्रदान गरेर देविहाट बुधबारे बजार स्थापना गरेको बताउँदै अहिले त्यहाँका व्यवसायीको उचित व्यवस्थापन नगरी बिर्तामोड नगरपालिकाले बहुतले व्यवसायिक भवन निर्माण गर्ने खोज्नु  दाताकोसमेत अपमान भएको बताए ।  गिरी र कपिलमनी शिवाकोटीले बिर्तामोड नगरपालिकाले हाल रहेको बजार देखि पूर्वीभागमा रहेको खाली जमिनमा ब्लक हिसावले भवन बनाई सक्ने र सो ठाउँमा व्यवसायीहरूलाई स्तान्तरण गराईसकेपछि, खाली भएको बाँकी ठाउँमा अर्को भवन बनाउनु पर्ने र यसो गर्दा अहिले देखिएको समस्या समाधान गर्न  नगरपालिकालाई सुझाव दिए।

 कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति भोजराज सिटौला, माओवादी केन्द्रका नगर अध्यक्ष  मोहन सुब्बा, राष्ट्रिय प्रजातन्त्र पार्टीकी नगर अध्यक्ष रञ्जु प्याकुरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर अध्यक्ष शम्भू भण्डारी, नेकपा (एकीकृत) समाजवादीका श्रीप्रसाद सिटौला,संघीय लिम्बुवानका मित्र लिङदेन लगायतले बिर्तामोड नगरपालिकाले  बहुतले व्यवसायिक भवन बनाउने योजना स्वागतयोग्य भएपनि त्यसभन्दा पहिले देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुको वैकल्पिक व्यवस्थापन गर्नुपर्ने बताए । स्थानीय सरकार अभिभावक भएकाले आफ्ना नागरिकको संरक्षण गर्नुपर्ने ठाउँमा उनीहरुको रोजीरोटी नै गुम्ने बातावरण बनाउनु जायज नभएको बताउँदै यस किसिमको कार्यले द्वन्द्व उत्पन्न हुन सक्ने हुँदा समास्याको समाधानको खोजी गर्न बिर्तामोड नगरपालिका लाग्नुपर्ने बताए । 

  बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुलाई वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गरे । आफूहरु संधै व्यवसायीको पक्षमा रहेकाले देविहाट बुधबारे बजारका व्यवसायीको समस्या समाधान गर्न आफूहरु लागीपर्ने बताए । .कार्यक्रममा व्यवसायी कृष्ण अधिकारीले भने – हामी  बहुतले भवन बन्नुपर्ने पक्षमा छौं । त्यसबेलासम्म हामी कसरी बाच्नु, बालबालिका र घर परिवारको खर्च कसरी जुटाउनु, भएको रकम सबै व्यापारमा लगानी भएको छ । अब त्यो सामान कहाँ लगेर बेच्नु, कसरी सहकारीको ब्याज तिर्नु ।

 त्यस्तै अर्का व्यवसायी विष्णु आचार्य पनि विकल्प दिएर मात्र बहुतले भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गर्छन् ।  उनले बिर्तामोड नगरपालिकाले बहुतले भवन बन्ने समय अवधीसम्म  गरिखान व्यवसाय सञ्चालनको लागि उपयुक्त स्थानको व्यवस्थापन गरिदिनुपर्ने, पछि बन्ने बहुतले व्यवसायीक भवनमा आफूहरुले व्यवसाय गर्न पाउने अधिकारको सुनिस्चितता हुनुपर्ने बताए । कार्यक्रमको सहजीकरण व्यवसायी विष्णु आचार्यले गरेका थिए ।