बिर्तामोड ।  शारीरिक सुगठन खेलको अन्तर्राष्ट्रिय मान्यताप्राप्त संस्था इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) र वल्ड बडीविल्डिङ एण्ड फिजिकल स्पोर्टस् फेडेरेशन (डब्लुबीपीएफ) अन्तर्गत नेपालमा रहेको संस्था नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ तथा  नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ तथा फिटनेस संघलाई एक भएर जान सुझाव दिइएपनि ती दुई संघबीचको विवाद केन्द्रदेखि जिल्लासम्म आइपुगेको छ ।

वल्ड बडीविल्डिङ एण्ड फिजिकल स्पोर्टस् फेडेरेशन (डब्लुबीपीएफ) अन्तर्गत नेपालमा रहेको संस्था नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले झापामा आफूखुशी जिल्ला समिति गठन गरेपछि विवाद उत्पन्न भएको हो ।

इन्टरनेशनल फेडेरेशन अफ बडीविल्डिङ एण्ड फिटनेश (आईएफबीबी) अन्तर्गत नेपालमा रहेको संस्था नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ तथा फिटनेस संघले राष्ट्रिय खेलकुद परिषदको पहलमा दुवै संस्थाबीच एकीकरण हुन नसकिरहेको अवस्थामा झापामा डब्लुबीपीएफ अन्तर्गत नेपालमा रहेको संस्था नेपाल शारीरिक सुगठन तथा फिटनेस संघले आफूखुशी जिल्ला समिति गठन गरेको भन्दै त्यसलाई आधिकारिक मान्यता नदिन झापा जिल्ला खेलकुद विकास समितिलाई आग्रह गरिएको आईएफबीबीका पूर्व केन्द्रीय सदस्य दिपेन चौधरीले बताए ।

केन्द्रमा विवाद यथावत रहेकाले जिल्लामा संघ गठन गर्न नमिल्ने भएकाले आफूहरुलाई जानकारी नै नदिइ आफूखुशी जिल्ला संघ गठन गर्नु अमान्य भएकाले दिप साउदेनको अध्यक्षतामा गठन गरिएको  नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ झापाको समितिलाई मान्यता नदिन उनले आग्रह गरे ।

यस्तै केन्द्रमा पनि नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ र नेप्लिज फेडरेसन अफ बडिबिल्डिङ तथा फिटनेस संघबीच एकीकरण भएर नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ बन्दा त्यस्मा असमान पदाधिकारी तथा सदस्य चयन हुँदा आधिकारिकताको विवाद यथावत रहेको अवस्थामा दोश्रो पटक गठन गरिएको तदर्थ समिति र त्यसले गरेका कार्यहरु रद्ध गरेर  राष्ट्रिय खेलकुद बिकास ऐन २०७७ को अभिप्राय अनुसार दुवै संघलाई मान्य हुनेगरीको तदर्थ समिति गठन गर्नुपर्ने उनले बताए ।

यता झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले दिप साउदेनको अध्यक्षतामा गठन गरिएको  नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ झापाको समितिलाई मान्यता नदिने बताए ।

उनले केन्द्रमा रहेको  नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघमा भएको विवाद यथावत रहेकाले उक्त विवाद समाधान नभएसम्म आफूले मान्यता नदिने बताए ।

एकै प्रकृतिका दुई संघले समान पदाधिकारीसहितको नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको झापा जिल्ला समिति गठन गरेर आउँदा त्यसलाई झापा जिल्ला खेलकुद विकास समितिले मान्यता दिने उनले बताए । 

झापामा डब्लुबीपीएफमा आवद्ध शारीरिक सुगठनका खेलाडीहरुभन्दा आईएफबीबीमा आवद्ध शारीरिक सुगठनका खेलाडीहरु सवैभन्दा वढी रहेका छन् ।