बिर्तामोड । तपाईं कुनै कार्यक्रममा अतिथिकोरुपमा सहभागी हुनुभयो भने मायाको चिनोकोरुपमा के उपहार प्राप्त होस् भन्ने चाहनुहुन्छ? अधिकाँशको अपेक्षा कुनै बहुमुल्य वस्तु भन्ने हुन्छ । तर झापाको बिर्तामोड –५ मा रहेको न्युटन्स् एजुकेशन एकाडेमीले आयोजना गरेको कुनैपनि कार्यक्रममा अतिथिकोरुपमा सहभागी हुनुभयो भने मायाको चिनोकोरुपमा पुस्तक उपहार प्राप्त गर्नुहुन्छ ।

 न्युटन्स् एजुकेशन एकाडेमीले आयोजना गर्ने वार्षिकोत्सवसहित अन्यकुनैपनि कार्यक्रममा अतिथिकोरुपमा सहभागी व्यक्तिहरुलाई मायाको चिनोको रुपमा विगत दुई वर्षदेखि पुस्तक उपहार प्रदान गर्दै आइरहेको न्युटन्स् एजुकेशन एकाडेमीका प्रिन्सिपल देवेन्द्र हुमागाईंले बताए ।

पठन संस्कृतिको विकास गर्ने उद्देश्यले विद्यालयको वार्षिकोत्सवसहित  अन्य कुनैपनि कार्यक्रममा  आमन्त्रित अतिथिहरुलाई मायाको चिनोकोरुपमा उपहारस्वरुप पुस्तक प्रदान गरिएको उनले जानकारी दिए ।

गत वर्षदेखि विद्यालयको वार्षिकोत्सवको अवसरमा आमन्त्रित अतिथिहरुलाई मायाको चिनोकोरुपमा उपहारस्वरुप पुस्तक वितरण गरिएको बताउँदै उनले  मोवाइलको लतका कारण पठन संस्कृतिको अभाव हुँदै गएको अवस्थालाई मध्यनजर गरी पठन संस्कृतिको विकासकै लागि पुस्तक वितरणको कार्य गरिएको जनाए ।

आफूहरुले यसवर्षदेखि विद्यालयमा प्रत्येक कक्षाको तहगत परिक्षामा उत्कृष्ट हुने विद्यार्थीलाई समेत ट्रफिको सट्टा पुस्तक उपहार प्रदान गर्दै आइरहेको बताउँदै उनले पठन संस्कृतिको विकासका लागि आगामी दिनमा पनि पुस्तक वितरणको कार्यलाई निरन्तरता दिने जानकारी दिए ।

न्युटन्स् एजुकेशन एकाडेमीले हालै आयोजना गरेको २१ औं वार्षिकोत्सवमा पनि आमन्त्रित अतिथिहरुलाई मायाको चिनोकोरुपमा उपहारस्वरुप पुस्तक वितरण गरिएको बताउँदै उनले कार्यक्रमका सहभागी अतिथिहरुले न्युटन्सको  पुस्तक दिने प्रचलन अत्यन्त सिर्जनात्मक रहेको बताएकाले आफूहरु अझ उत्साहित रहेको जनाए । 

विद्यालयको वार्षिकोत्सव, विवाह, जन्मोत्सव वा अन्य कुनै पनि शुभकार्यमा मायाको चिनोको रुपमा पुस्तक उपहार दिने चलन राम्रो भएको बिर्तामोडमा रहेको इशा बुक्स एण्ड स्टेशनरीका सञ्चालक पुस्तक व्यवसायी केशव मैनाली बताउँछन् ।

अन्य भौतिक सामग्री उपहार दिनुभन्दा पुस्तक दिँदा त्यसको उपयोग भावी पुस्ताले समेत गर्न सक्ने भएकाले  पुस्तक उपहारमा  दिन पाउनु  असल काम भएको उनले बताए ।

  झापाको बिर्तामोडमा स्थापित वीरता रिडर्सका सहसंयोजक समेत रहेका मैनालीले एउटा असल, उपयोगी र गम्भीर पुस्तकले मान्छेको जीवन नै परिवर्तन गरिदिन सक्ने र  यस्तो क्षमता अन्य कुनै वस्तुमा हुन नसक्ने भएकाले पुस्तक उपहार दिनु उत्तम भएको बताए ।

आधुनिक युगमा पुस्तक उपहारको चलन बिस्तारै अगाडि बढेको बताउँदै उनले समुदायस्तरमा पठन संस्कृतिको विकासका लागि झापाको बिर्तामोडमा वीरता रिडर्स नामक संस्था स्थापना गरिएको जानकारी दिए ।

छ महिना अघि स्थापना भएको वीरता रिडर्सले पुस्तक परिचर्चा, पाठक र लेखकबीच साक्षात्कार, लेखनसंग सम्वन्धीत प्रश्नोत्तर कार्यक्रम, लेखनसीप तालिम सञ्चालन गर्दै आइरहेको उनले बताए ।