बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बिर्तामोड नगर कमिटीले दोस्रो नगर अधिवेशनको तयारी गरेको छ । आगामी  जेठ १३ गते  बिर्तामोडस्थित सिटी सेन्टरमा रहेको साई पार्टी प्यालेसमा नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशन गरिने भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको हो ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा नेकपा एमालेकी  केन्द्रीय सदस्य एवं बिर्तामोड नगर कमिटी इन्चार्ज गीता अधिकारीको प्रमुख आतिथ्यमा पत्रकार सम्मेलन गरिएको हो ।

पत्रकार सम्मेलनमा प्रमुख अतिथि अधिकारीले ब्यानर खोलेर नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको लोगो सार्वजनिक गरेकी थिइन् ।

पत्रकार सम्मेलनमा जेठ १३ गते  बिर्तामोडस्थित सिटी सेन्टरमा हुने दोस्रो नगर अधिवेशनको उद्घाटन नेकपा एमालेका महासचिव शंकर पोखरेलले गर्ने नेकपा एमालेका बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।अधिवेशनमा वडाबाट चुनिएका भूगोल, जनवर्गीय संगठन,मजदुर र मुक्ति समाजबाट ४ सय ९९ जना प्रतिनिधि सहभागी हुने बताउँदै उनले बुधवारबाटै सबै वडामा प्रतिनिधि छनौट कार्य शुरु गरिने जनाए ।

नगर अधिवेशनको तयारी तीव्ररुपमा भइरहेको बताउँदै उनले नगर अधिवेशनको पूर्वसन्ध्यामा जेठ १२ गते बिर्तामोडमा सरसफाई कार्यक्रम आयोजना गरिएकाले उक्त कार्यक्रममा सहभागिता जनाउन सबैलाई आग्रह गरे ।

जेठ १३ गते हुने नगर अधिवेशनमा साविक अनारमनी, गरामनी र चारपाने गाविसका पार्टी प्रमुखहरुलाई सम्मान गरिने उनको भनाई छ ।दोस्रो नगर अधिवेशनले नेकपा एमाले बिर्तामोड नगर कमिटीको नयाँ नेतृत्व समेत चयन गरिने बताउँदै उनले नगर अधिवेशनबाट नेकपा एमाले बिर्तामोड नगर कमिटीको  नयाँ नेतृत्व सर्वसम्मत गरिने र सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने जनाए ।

२०७८ कार्तिक १६ गते भएको नेकपा एमाले बिर्तामोड नगर कमिटीको प्रथम नगर अधिवेशनबाट भट्टराईको अध्यक्षतामा निर्वाचित कमिटीको कार्यकालमा भएको तीनै तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

पत्रकार सम्मेलनमा एमाले नेता देवराज कार्कीसहित जिल्ला र नगरस्तरका नेता, कार्यकर्ताहरुको सहभागिता रहेको बिर्तामोड नगर कमिटी सदस्य नारायणप्रसाद चिमरियाले जानकारी दिए ।

नेकपा एमाले बिर्तामोड नगर कमिटीको दोस्रो कार्यकालका लागी अध्यक्षमा बर्तमान अध्यक्ष सुवास भट्टराई र सचिव शेखर कडेलको चर्चा रहेको छ । भट्टराई पार्टीका जिल्ला तथा नगरस्तरका नेता, कार्यकर्ताहरुमाझ लोकप्रिय रहेका छन् ।