बिर्तामोड । झापाको बिर्तामोडमा रहेको सरगम संगीतालयमा मंगलबारको साँगीतिक माहौल वेग्लै थियो । प्रायः साँगीतिक कार्यक्रम भइरहने त्यहाँ मंगलबार भने वालवालिकादेखि ७० वर्षसम्मका वृद्धले गीत प्रस्तुत गर्दा साँगीतिक माहौलले झन् तताएको थियो ।

त्यतीमात्र होइन त्यहाँ उपस्थित नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका हस्तिका गीत उनीहरुका अगाडी सरगम संगीतालयमा गीत संगीतका कखरा सिक्दै गरेकाले प्रस्तुत गर्दा उनीहरु हर्षले गद्गद् भएका थिए ।

नेपाली गीत संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान गरेका झापाका १४ जना श्रष्टाले रचना, संगीत, गायन गरेका गीत उनीहरुका अगाडी प्रस्तुत गर्नुपूर्व सरगम संगीतालयमा गीत संगीतका कखरा सिक्दै गरेका विद्यार्थीले आफूहरुले भनेजस्तो गाउन नसकेर गीतलाई न्याय दिन नसक्ने भएकाले क्षमा दिन आग्रहसहितको पत्र प्रदान गरी उनीहरुबाट आशीर्वाद लिएर गीत प्रस्तुत गर्दा श्रष्टाहरुमा खुशीको सीमा थिएन ।

आफूहरुले रचना, संगीत र गाएको गीत आफ्नो अगाडी प्रस्तुत गरेको देखेर गीत प्रस्तुत गर्ने विद्यार्थीहरुलाई प्रतिकृया दिँदै आफूहरुले रचना, संगीत र गाएको गीतको उद्धेश्य प्रस्तुत गर्दा सहभागी दर्शक श्रोता समेत उत्साहित भएका थिए । 

आफ्नो जीवन गीत ,संगीत साधना तथा श्रृजनामा तल्लीन रहेर नेपाली गीत संगीतको भण्डारलाई पूरा गर्न अहोरात्र लागि परेका  झापाली श्रष्टाहरुको  सम्मान तथा उनीहरुको श्रृजनाको मूल्य र महत्त्व नवपुस्तामा जानकारी गराउने उद्धेश्यले सरगम संगीतालयले श्रष्टा सरगम झंकार कार्यक्रमको आयोजना गरेको सरगम संगीतालयका प्रवन्ध निर्देशक दिपक रायमाझीले बताए ।

कार्यक्रममा लोक सम्राट एलपी जोशी, वरिष्ठ गीतकार शिवशंकर थापा, गायक तथा संगीतकार हस्त परियार, वरिष्ठ संगीतकार भरत लामा, संगीतकार कृष्ण योञ्जन,साहित्यकार तथा रचनाकार केशव आचार्य,  पत्रकार ,गायक तथा संगीतकार चन्द्र भण्डारी,  गायक तथा संगीतकार हरी पौडेल, संगीतकार धुव्र पाठकका श्रृजना प्रस्तुत गरिएको थियो ।

सरगम संगीतालयका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा लोक सम्राट एलपी जोशीलाई सम्मान समेत गरिएको थियो । कार्यक्रमको सञ्चालन साहित्यकार लीला अनमोलले गरेकी थिइन् ।