बिर्तामोड । झापा कनकाई – ३ सुरुङ्गाकी एञ्जीला मैनाली भर्खर २८ वर्षकी भइन् । सुरुङ्गाको श्री हरिकुल नमूना उच्च माविबाट एसएलसी परीक्षा उत्तिर्ण गरी काठमाडौं हान्निएकी उनले काठमाण्डौको ह्वाइट गोल्ड इन्टरनेशनल कलेजबाट कक्षा १२ उत्कृष्ट अंकका साथ उत्तिर्ण गरिन् । कक्षा १२ उत्तिर्ण  गरेपछि उनलाई चार्टर्ड एकाउन्टेन्ट (सीए) बन्ने रहर पलायो ।

घरको आर्थिक अवस्था मध्यम खालको थियो । उनका बुबा डिल्लीराम मैनाली भृकुटी मावि दुर्गापूरमा पढाउँथे । कक्षा १२ को परीक्षा दिएकै वर्ष उनी सीएमा भर्ना भइन् । उनले द इन्स्टीच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट सीए उत्तिर्ण गरिन् । त्यसबेला उनी २३ वर्षकी मात्र थिइन् । उनले भनिन् – ‘सीए बन्ने मेरो रहर थियो,मेहेनत धेरै गर्नु पर्थ्यो, त्यसैले मैले बढो मेहनतका साथ सीए पढें र चार्टर्ड एकाउन्टेन्ट बन्ने अवसर पाएँ ।’

इण्डीयाबाट सीए उत्तिर्ण गरेर आएपछि उनले द इन्स्टीच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ नेपालबाट सदस्यता प्राप्त गरी  लेखापरिक्षण गर्ने अवसर प्राप्त गरिन् । अहिले उनी आफ्नै फर्मबाट लेखापरिक्षण गरीरहेकी छिन् ।

२३ वर्षमै सीए सकेकी उनलाई आफू सानै छु भन्ने लाग्दो हो । तर उनको जिम्मेवारी सानो छैन । उमेरमा सानै भएपनि उनको जिम्मेवारी भने ठूलो न ठूलो छ । ’सीए भए पछि आफूलाई सानो सोच्नै पाइदैन,’ उनी भन्छिन् ।

सीए भएलगत्तै लेखापरिक्षण गरीरहेकी उनलाई भर्खरै बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको राजश्व सम्बन्धि समस्याको सहजिकरण एवम् समाधान गर्नका लागि मनोनित गरेको छ ।

उनले भनिन् – ’हामीसँग अपेक्षा धेरै गरिदो रहेछ, जिम्मेवारी पूरा गर्न सक्ने भएर मलाई जिम्मेवारी दिइएको छ, म त्यो पूरा गर्छु  ।’

उनको क्षमता देखेर नै बिर्तामोड उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको राजश्व सम्बन्धि समस्याको सहजिकरण एवम् समाधान गर्नका लागि मनोनित गरेको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए । उनले भने – ’ सीए एञ्जीलामा लेखापरिक्षण गर्ने क्षमता देखेर हामीले मनोनित गरेका हौं । एउटी नारी सीए हुनु चानचुने कुरो होइन ,हामीहरुले उनीहरुको क्षमताको कदर गर्नुपर्छ ।’

बुबा  डिल्लीराम मैनाली र आमा रेनुका उप्रेती मैनालीकी ज्येष्ठ सुपुत्री एञ्जीला भविष्यमा सफल सीए बन्ने लक्ष्य लिएको बताउँछिन् ।

 नेपाल चाटर्ड एकाउन्टेण्ट संघ झापाको दुई कार्यकाल कार्यसमिति सदस्य रहेकी एञ्जीला कनकाई नगरपालिकाकै पहिलो महिला सीए हुन् ।