बिर्तामोड ।  मुडुला कार्की कुलायन व्यवस्था समिति बिर्तामोडको आयोजनामा सुरेन्द्रबहादुर कार्कीद्वारा लिखित तथा संकलित ‘सृष्टि, समय र इतिहास’ नामक पुस्तकको विमोचन गरिएको छ ।  

गणेशप्रसाद कार्कीको अध्यक्षता तथा संस्थाका केन्द्रीय सदस्य गणेशबहादुर कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  संस्थाका बिर्तामोड नगर अध्यक्ष तुलसी कार्कीले स्वागत गरेका थिए । 

कार्यक्रममा लेखक कार्कीले ‘सृष्टि, समय र इतिहास’ नामक पुस्तकको औचित्य बारे चर्चा गरेका थिए । उनले  ‘सृष्टि, समय र इतिहास’ नामक  पुस्तकमा मुडुला कार्कीको आंशिक वंशावली समेत समावेश गरिएको बताए । 

 ‘सृष्टि, समय र इतिहास’ नामक  पुस्तकमा दश अध्यायमा रहेको बताउँदै उनले पुस्तकका सुरुका तीन अध्यायमा सृष्टि, समय, इतिहासको चर्चा रहेको , चौथो अध्यायमा वर्तमानकाल, पाँचौँ अध्यायमा खस जाति र सभ्यता, छैटौँमा प्रयोग अनुसन्धान र निष्कर्ष, सातौँमा नेपाली संस्कृतिको संक्षिप्त परिचय , आठौँमा बन्धु र बन्धुत्व, नवौँमा वंशावली र विविध र  दशौँ अध्यायमा ऐतिहासिक तस्वीरहरु रहेको जानकारी दिए ।  

कार्यक्रममा प्रमुख अतिथि संस्थाका केन्द्रीय सदस्य गणेशबहादुर कार्की, संस्थाका सल्लाहकार तथा  कोशी प्रदेश सरकारका खानेपानी सिँचाइ तथा उर्जा मन्त्री एकराज कार्की, संस्थाका कोशी प्रदेश अध्यक्ष हरिबहादुर कार्की,  झापा अध्यक्ष बमबहादुर कार्की, उपाध्यक्ष काशी कार्की, जिल्ला सल्लाहकार सदस्य अधिवक्ता रञ्जिता कार्की, अर्जुनधारा नगर अध्यक्ष गोकर्ण कार्की लगायतले ‘सृष्टि, समय र इतिहास’ नामक पुस्तकले  मुडुला कार्कीहरुलाई एकआपसमा जोड्ने र मुडुला कार्कीको इतिहासलाई सुरक्षित गर्न मद्दत गर्ने बताए ।

कार्यक्रममा अध्यक्ष गणेशप्रसाद कार्की तथा लेखक सुरेन्द्रबहादुर कार्कीलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । 

 कार्यक्रममा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष बलराम कार्की लगायतको सहभागिता  रहेको थियो ।

मेचीनगरका उदयराज कार्कीले कविता वाचन गरेको कार्यक्रमको सञ्चालन संस्थाका झापा जिल्ला सल्लाहकार संयोजक गोविन्द कार्कीले गरेका थिए ।