बिर्तामोड । साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले लोकगीत सम्राट एलपी जोशी र शास्त्रीय संगीत गुरु गुरुदेव कामतको निधनले नेपाली गीत संगीतको क्षेत्रमा अपुरणीय क्षति भएको बताएका छन् ।
साहित्य चौतारी झापाको वैठक तथा श्रद्धाञ्जली सभामा उनले जोशी र कामत साहित्य चौतारीको धरोहर भएकाले उनीहरुको निधनले संस्थालाई अपुरणीय क्षति भएको बताएका हुन् ।
साहित्य चौता्री झापाको स्थापनाकाल देखिनै लोकगीत सम्राट एलपी जोशीले कहिले प्रमुख अतिथि भएर , कहिले एकल गायन प्रस्तुत गरेर, एक अभिभावकको रुपमा आफूलाई प्रस्तुत गरिरहँदा साहित्य चौतारीले दीर्घ साधना सम्मान, अभिनन्दन, रथारोहणसहित नागरिक अभिनन्दन गरेर जोशीलाई राष्ट्रले समेत नदिएको सम्मान प्रदान गरेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
लोकगीत सम्राट एलपी जोशी राष्ट्रीय धरोहर भएपनि उनको निधनमा सरकार उदासिन भएको प्रति दुःख व्यक्त गर्दै श्रेष्ठले उनको निधनमा सरकारको तर्फबाट राष्ट्रीय सम्मान नदिइनु दुखद् भएको बताए । साहित्य चौतारी झापाले लोकगीत सम्राट एलपी जोशीको स्मृतिमा लोकगीत संगीत एलपी जोशी स्मृति साहित्य चौतारी पुरस्कार स्थापना गरिएको बताउँदै उनले सरकारले पनि जोशीलाई उचित सम्मान दिइनुपर्नेमा जोड दिए ।
त्यस्तै उनले शास्त्रीय संगीत गुरु गुरुदेव कामत शास्त्रिय सङ्गीत कला सस्कृतिको श्रीवृद्धिमा समर्पीत अग्रज धरोहर रहेको बताउँदै उनको निधनले संस्था मर्माहत भएको बताए । गुरुदेव कामतको संगीत र शिला पन्तको रचनामा आफूले २०२८ सालमा के नामले बोलाउँ भोला नामक भजन गाएको स्मरण गर्दै उनले कामतको निधनले आफू स्तव्ध भएको बताए ।
साहित्य चौतारी झापाले गुरुदेव कामतलाई दीर्घ साधना सम्मानद्वारा अभिनन्दन गरेको बताउँदै उनले सरकारले भने उनको अपमान गरेको जनाए ।
नेपाली शास्त्रीय संगितको धरोहर कामत मृगौलाको समस्याबाट पीडित भई काठमाडौँमा बसेर उपचार गराउन नसकेपछि घर फर्किएको बताउँदै उनले सरकारले सहयोग नगर्दा यस्ता धरोहरले कुकुरसरी मृत्युवरण गर्नुपरेको बताए । साहित्य चौतारीले नेपाली गीत संगीतको क्षेत्रका धरोहरलाई सदैव सम्झीरहने उनको भनाई छ ।
साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, संरक्षिका तथा वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्वाङ, शान्ता पौडेल, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सहकोषाध्यक्ष कुमार श्रेष्ठ, सदस्यहरु कल्पना भट्टराई , सुनिता तामाङ, एनवी दाहाल, सल्लाहकार संयोजक राजेन्द्र संग्रौला, सल्लाहकारहरु हरिनारायण भट्टराई, पूर्व अध्यक्ष टंक विकल्प, निवर्तमान अध्यक्ष हस्त परियार, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौला, पत्रकार भरत प्रसाई, सप्तक संगीतालयका प्रशिक्षक अर्पण सापकोटा, मंगल कलाकेन्द्रका सञ्चालक कृष्ण निरौला, निशु निरौलालगायतको सहभागितामा श्रद्धाञ्जली सभा गरिएको थियो । बिर्तामोडमा भएको कार्यक्रममा लोकगीत सम्राट एलपी जोशीको गीत र शास्त्रीय संगीत गुरु गुरुदेव कामतले संगीत गरेको भजन प्रस्तुत गरी श्रद्धा अर्पण गरिएको थियो ।
यसैबीच साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठ, उपाध्यक्ष हिम्मत नेम्वाङ, कोषाध्यक्ष भवानीप्रसाद गौतम, सहकोषाध्यक्ष कुमार श्रेष्ठ, सदस्य एनवी दाहाल, पूर्व अध्यक्ष टंक विकल्प, निवर्तमान अध्यक्ष हस्त परियार, प्रेस सल्लाहकार तुलसीप्रसाद निरौलालगायतको टोलीले दमकस्थित लोकगीत सम्राट एलपी जोशीको निवासमा गई परिवारजनमा समवेदना पत्र हस्तान्तरण गरेको थियो ।