बिर्तामोड । साहित्य चौतारी झापाले काठमाडौंमा विविध गतिविधी गर्नका लागी साहित्यकार तथा पत्रकार राधेश्याम लेकालीलाई सल्लाहकार संयोजकमा मनोनयन गरेको छ ।

साहित्य चौतारी झापाका  संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा बसेको संस्थाको बैठकले यस्तो निर्णय गरेको हो ।

त्यस्तै संस्थाको काठमाडौंमा हुने विभिन्न गतिविधीहरु सञ्चालनका लागी संस्थाको सल्लाहकारहरुमा वरिष्ठ गायक तथा संगीतकार लाक्पा शेर्पा र विष्णु अधिकारी तथा प्रेस सल्लाहकारमा पत्रकार सरस्वती गौतमलाई मनोनयन गर्ने निर्णय गरेको छ ।

साहित्य चौतारीले काठमाडौंमा शनिवार प्राज्ञ गणेश रसिकको अभिनन्दन गर्ने भएको र त्यसका लागी साहित्य चौतारी झापाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठलाई अध्यक्षता गर्ने अख्त्यिारी दिइएको छ ।

शनिबार अनामनगर काठमाडौंमा हुने कार्यक्रमको प्रमुख अतिथिमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणी हार्तम्छाली रहने बताइएको छ । 

सोही कार्यक्रममा लोकगीत सम्राट एलपी जोशी र शास्त्रीय संगीत गुरु गुरुदेव कामतको स्मृतिमा श्रद्धाञ्जली सभा समेत गरिने साहित्य चौतारी झापाका सहसंरक्षक तथा सचिव गौरव श्रेष्ठले बताए ।

साहित्य चौतारी झापाले साधारण सभाको तयारी, रजत वर्ष स्मारिका प्रकाशनको तयारी गरेको छ भने आगामी भदौ ४ गते होटल हिकोला हेरिटेज बिर्तामोडको १० औं वार्षिकोत्सवमा तीज विशेष कार्यक्रम तथा पर्यटन पर्वद्धनमा गीत,संगीत, भाषा,संस्कृतिको भूमिका सवषयक अन्तरक्रिया गरिने भएको छ ।

तीज विशेष कार्यक्रमको संयोजकको जिम्मेवारी साहित्य चौतारी झापाका संस्थापक संरक्षक वरिष्ठ उपाध्यक्ष उर्मिला विमली श्रेष्ठलाई दिइने भएको छ ।