बिर्तामोड । नेपाल र भारतका नेवार समुदायबीच आफनो जातीय भाषा, कला संस्कृति, भेषभूषा, खानपान, चाडपर्वसम्वन्धी अध्ययन अनुसन्धान र सांस्कृतिक सहकार्य गरिने भएको छ ।
नेवाः देय् दबू केन्द्रीय समिति काठमाडौं र अखिल भारतीय नेवार संगठन केन्द्रीय समिति दार्जलिंग, पश्चिम बंगाल भारतबीच झापाको बिर्तामोडमा भएको अध्ययन अनुसन्धान र सांस्कृतिक सहकार्य सम्बन्धी १० बुँदे समझदारी पत्रमा यस्तो उल्लेख गरिएको हो ।
नेवाः देय् दबू ःकेन्द्रीय समिति काठमाडौंको आयोजना तथा नेवाः देय् दबू झापा जिल्ला जिल्ला समितिको व्यवस्थापन र , नेवाः देय् दबू बिर्तामोड र नेवाःपासा मुना पुचः बिर्तामोड नगर समितिको सहयोगमा बिर्तामोडमा नेवाः देय् दबू केन्द्रीय समिति काठमाडौंको पाँचौं केन्द्रीय बैठक र अन्तर्रास्ट्रिय विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको हो ।
नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र ब्रज्रचार्य र अखिल भारतीय नेवार संगठनका केन्द्रिय अध्यक्ष सुर्यनारायण प्रधानले पानसमा बत्ती बालेर नेवाःदेय् दवुको पाचौं केन्द्रीय समिति बैंठक तथा अन्तर्राष्ट्रिय विचार गोष्ठीको उद्घाटन गरेका थिए ।
नेवाः देय् दवूका केन्द्रीय सचिव तथा अन्तर्राष्ट्रिय विभाग संयोजक दिनेश शाक्यले स्वागत तथा औचित्य माथि प्रकाश गरेको कार्यक्रममा नेवाः देय् दबूको केन्द्रिय समिति र अखिल भारतीय नेवार संगठनको तर्फबाट दुवै देशका नेवार समुदायको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय उपाध्यक्ष उमेश स्थापितले नेपालमा नेवार जातिको कुल जनसंख्या , राजनीतिक, आर्थिक , सामाजिक अवस्था , नेपाल भाषाको प्रयोग ,सरकारी तहमा नेवार जातिको पहुँच विगत र वर्तमान समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए भने अखिल नेपाल भारतीय संगठनका महासचिव श्याम प्रधानले भारतमा बसोवास गर्दै आएका नेवारहरूको अवस्था र सांगठनीक गतिविधि समेटिएको कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेवाः देय् दबू केन्द्रीय समिति काठमाडौं र अखिल भारतीय नेवार संगठन केन्द्रीय समिति दार्जलिंग, पश्चिम बंगाल भारतबीच अध्ययन अनुसन्धान र सांस्कृतिक सहकार्य सम्बन्धी १० बुँदे समझदारी गरिएको थियो ।
नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र ब्रजाचार्य र अखिल भारतीय नेवार संगठन केन्द्रीय अध्यक्ष सूर्यनारायण प्रधानले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुई संगठनबीच भाईचारा सम्बन्ध प्रगाढ बनाउने आपसी इच्छाबाट प्रेरित हुदै, दुई संगठनले प्रतिनिधित्व गरिरहेको नेपाल र भारतका नेवार समुदायको सांस्कृतिक आदानप्रदान र सहकार्यको चाहनालाई बुझिने समझदारी पत्रमा उल्लेख छ ।
त्यस्तै नेवाः सास्कृतिक सहकार्य, अध्ययन अनुसन्धान, भाईचाराको विकास, बिपदमा आपसी पारस्परिक सरसहयोग लगायतका बुँदा समेटिएको छ भने आदिवासी अधिकार सम्बन्धी संयुक्त राष्ट्र संघको घोषणा पत्र अमूर्त सम्पदा सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धीको आदिवासी समुदायको आपसी परम्परागत सम्बन्धलाई राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक सीमानाले बन्देज लगाउन नसक्ने प्रावधानलाई आत्मसात गर्दै, समुदायको ऐतिहासिक, पुरातात्विक, सामाजिक, सांस्कृतिक विषयवस्तुको अध्ययन अनुसन्धानको आवश्यकता बोध गर्दै समझदारी पत्रमा उल्लेख छ ।
त्यसैगरी नेवार समुदायको सांस्कृतिक विषयका गुरुहरुको सहभागिता सहित परम्परागत ज्ञान शिप, भाषा, लिपि, भेषभुषा, गरगहना, खानपान, संस्कार, सभ्यता र संस्कृति अभिवृद्धिमा सहयोग हुने गरी सांस्कृतिक आदानप्रदानका कार्यक्रमहरु सञ्चालन गर्ने, अखिल भारतीय नेवार संगठन केन्द्रीय समितिको आयोजनामा हुने नेपाल भाषा पुरोहित, खानपान आदि विषयका प्रशिक्षण तालिमहरूमा प्रशिक्षकको व्यवस्थाका लागि नेवाः देय् दबू केन्द्रीय समितिले समन्वय सहयोग गर्ने, भारतमा रहेका नेवारहरूको मानक पोशाक र वर्षभरि मनाउने जात्रापर्वहरू तय गर्न नेवाः देय् दबू केन्द्रीय समितिले समन्वय सहकार्य गर्नेलगायतका बुँदाहरु समझदारी पत्रमा उल्लेख छ ।
कार्यक्रममा नेपाल तथा भारतमा बसोवास गर्दै आएका नेवार समुदाय बीच आफनो जातीय भाषा, कला संस्कृति, भेषभूषा, खानपान, चाडपर्व संरक्षण र सम्बद्र्धनका बिषयमा अन्तरक्रिया भएको थियो।
कार्यक्रममा नेवाः देय् दबू पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण उदास, झापाका पूर्व अध्यक्ष भरत श्रेष्ठ, सुरेन्द्र श्रेष्ठ, श्रीकृष्ण महर्जनलगायतले विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुको जिज्ञासाको जवाफ दुवै संगठनका प्रमुखले दिएका थिए ।
कार्यक्रममा अखिल भारत संगठन केन्द्रिय अध्यक्ष सूर्यनारायण प्रधानले नेवारको पूख्र्यौली ईतिहास नेपालमै भएको उल्लेख गर्दै विश्वभरिका नेवार समुदायको भाषा, जन्म देखि मृत्युसम्मका संस्कार विश्वभर एउटै अवलम्बन गर्न र सांस्कृतिक रूपमा एक जुट हुन जरुरी भएकाले दुई संगठनबीच समझदारी गरिएको बताए ।
नेवाः देय् दबूका केन्द्रिय अध्यक्ष पवित्र ब्रज्रचार्यले बैठकको अध्यक्षता गर्दै नेवार समुदायको संस्कृतिको उत्थान र प्रवर्धन गर्दै आएका भारत र नेपालका नेवार समुदायलाई एउटै सुत्रमा वाँध्न बिर्तामोडमा नेवाः देय् दबूको पाँचौं केन्द्रिय समितिको बैंठक तथा एक दिने अन्तर्रास्ट्रिय विचार गोष्ठी कार्यक्रम आयोजना गरिएको बताए ।
कार्यक्रममा नेवाः देय् दबूलाई अखिल भारतीय नेवार संगठनको तर्फबाट संगठनको झण्डा साथमा संविधान मायाको चिनो स्वरूप हस्तान्तरण गरिएको थियो भने नेवाः देय् दबूको तर्फबाट अखिल भारतीय नेवार संगठनलाई दोलखा भिमेश्वरको पसिना पुछिएको कपास महाप्रसादका रूपमा र कुसुणडा मायाको चिनो स्वरूप हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा नेपालका नेवाः देय् दबूका मेचीदेखी महाकालीसम्मका प्रमुखदेखि विशिष्ट पदाधिकारीहरु र अखिल भारतीय नेवार संगठन सिक्किम , दार्जिलिङ,आसाम लगायतका संगठन प्रमुखदेखि विशिष्ट पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा नेवाः देय् दबू झापाकी बरिष्ठ उपाध्यक्ष तिलरुपा श्रेष्ठले जानकारी दिइन् ।
भारत र नेपालमा रहेका नेवार समुदायको संगठन बिस्तार तथा सांगठनीक समन्वयको बिषयमा आइतबार दुवै देशका नेतृत्व तहमा बृहत छलफल हुने तथा नेवाः देय् दबूको पाँचौं केन्द्रिय समितिको बैंठक आयोजना हुने नेवाः देय् दबूका प्रदेश सदस्य तथा कार्यक्रमका आर्थिक संयोजक ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रमको संचालन देय दवु महासचिव सत्य नारायण डंगोलले गरेका थिए ।