बिर्तामोड । झापाको बिर्तामोड–१ मा रहेको नारी संकल्प (नासा)को  छैटौं साधारणसभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष तुलसा मैनाली खरेलको  अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममामा संस्थाकी उपाध्यक्ष तीलरुपा श्रेष्ठले स्वागत गरेकी थिइन् । 

कार्यक्रममामा प्रमुख अतिथि संग्रौला, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, पूर्व अध्यक्ष रामलोचन न्यौपाने, नरेश शिवाकोटी, सल्लाहकार गोविन्द कार्की, वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओली लोहनी, महिला उद्यमी संघ झापाकी उपाध्यक्ष शर्मिला अधिकारी, भीआईपी टोल विकास संस्थाका सचिव केदार खरेल, ब्रह्मकुमारी राजयोग पाठशालाकी प्रशिक्षक प्रा.डा. सन्ध्या बस्नेतलगायतले  महिलाहरु एक जुटभएमा जस्तोसुकै काम पनि गर्नसक्नेमा जोडदिँदै बिर्तामोडमा नारी संकल्पले महिलाको हितका निमित्त छोटो समयमा महत्वपूर्ण काम गर्न सफल भएको भन्दै प्रशंसा गरेका थिए ।

उनीहरुले  महिलाले केही गर्न सक्दैनन् भन्नेलाई बिर्तामोडको नारी संकल्पका महिलाहरुले चुनौति दिँदै समाजसुधारका निम्ति धेरै राम्रो काम गरेको बताए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खरेलले  महिलाहरुको शिक्षा, स्वास्थ्य, चेतना, उद्यमशिलता, सशक्तिकरण, नेतृत्व विकास, सीपमूलक कार्य गर्नका लागि तथा समाजमा रहेका विभिन्न समस्याहरुको पहिचान गरी समाधानका लागि जागरुकता ल्याई सामाजिक हितका लागि २०७५ सालमा नारी संकल्प (नासा)संस्थाको स्थापना गरिएको बताइन् ।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दीपा भण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले गरेको कार्य र ती कार्यमा गरेको आम्दानी र खर्चबारे जानकारी गराएकी थिइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिक ९५ वर्षीया ठगीमाया तामाङलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।

२८ जना नयाँ सदस्यलाई प्रमाण पत्र समेत बितरण गरिएको कार्यक्रमको सञ्चालन संस्थाकी सचिव आशा बानियाँ उप्रेतीले गरेकी थिइन् ।