बिर्तामोड । अन्तर्राष्ट्रिय भागवत कथा वाचिका भागवत मन्जरी राधिका दासीले जन्मोत्सवको नाममा फजुल खर्च नगर्न सबैलाई आग्रह गरेकी छिन् ।
झापाको कनकाई नगरपालिका–६ मनसापुरमा रहेको राधिका फाउण्डेसनको निर्माणाधिन सचिवालय भवनमा आफ्नो जन्मोत्सव मनाउन आयोजित कार्यक्रममा उनले जन्मोत्सवको नाममा फजुल खर्च गर्ने प्रबृत्ति वढ्दै गइरहेकाले यसले समाजमा विकृति फैलाएकाले यसको नियन्त्रण जरुरी भएको बताइन् ।
आफ्नो जन्मोत्सव मनाउँदा ‘केक’ काट्ने प्रवृद्धि अन्त्य गर्न आग्रह गर्दै उनले अहिले केक काटेर जन्मदिन मनाउने बिकृति फैलिरहेकाले त्यसलाई छोडेर राधिका फाउण्डेसनमा रहेका १४ जना बालबालिकाहरूसँग आफ्नो जन्मदिनको खुशी साटासाट गर्न आग्रह गरिन् ।
राधिका फाउण्डेसनले १४ जना बालिकाहरूलाई आवासीय सुविधा सहित निःशुल्क गुरुकुलीय पद्धति संस्कृत शिक्षा प्रदान गर्ने बताउँदै उनले धर्म, संस्कृति, नैतिक शिक्षा प्रदान गरेर कुशल र सबल नागरिक तयार पार्ने राधिका फाउण्डेसनको उद्देश्य रहेकाले यस सत्कर्मका लागि स्थानीय सरकार, नागरिक समाजलाई सहयोग गर्न आग्रह गरिन् ।
कार्यक्रममा सहभागी कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले राधिका फाउण्डेसन भवन निर्माण लाई पूर्णता दिन नगरले पनि आर्थिक सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा कनकाई –६ का निवर्तमान वडाध्यक्ष लक्ष्मीप्रसाद ओली, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजकुमार घिमिरे राजु , सदस्य विपिन बजगाईं, नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराई, बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौला, कनकाई खवर साप्ताहिकका सम्पादक राम निरौलालगायत भक्तजनले भागवत मन्जरी राधिका दासीलाई जन्मदिनको शुभकामना दिँदै आशिर्वाद ग्रहण गरेका थिए ।