बिर्तामोड । नेवाः देय् दबू बिर्तामोड नगर समितिको आयोजनामा उद्घोषण तथा क्षमता अभिबृद्धि तालिम साथै लाखे जात्रा तथा ठाकठुके नृत्य समापन गरिएको छ ।
नेवाः देय् दबू बिर्तामोड नगर समितिका अध्यक्ष छत्रबहादुर श्रेष्ठको अध्यक्षता तथा नेवाः देय् दबू कोशी प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष तथा साँस्कृतिक कार्यक्रम संयोजक जंगबहादुर श्रेष्ठले स्वागत गरेका थिए ।
संस्थाका बरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा नेवाः देय् दबू बिर्तामोड नगर समितिको आयोजनामा भएको उद्घोषण तथा क्षमता अभिबृद्धि तालिमका प्रशिक्षक संस्थाका सचिव जीवनकुमार श्रेष्ठलाई सम्मान तथा तालिमका प्रशिक्षार्थीलाई प्रमाणपत्र बितरण गरिएको थियो ।
त्यस्तै लाखे जात्रा तथा ठाकठुके नृत्यका प्रशिक्षकहरु रुपेश श्रेष्ठ, हिमाल श्रेष्ठ, एकान्त प्रधान र प्रतिमा श्रेष्ठलाई सम्मान तथा लाखे जात्रा तथा ठाकठुके नृत्यका कलाकारहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी नेवाः देय् दबू कोशी प्रदेश अध्यक्ष इन्द्रबहादुर श्रेष्ठले नेवाः देय् दबू बिर्तामोड नगर समितिले लाखे जात्रा तथा ठाकठुके नाचको प्रशिक्षण गराई उनीहरुबाट लाखे जात्रा तथा ठाकठुके नाचको प्रदर्शन गराएर नेवार समुदायको जातीय संस्कार–संस्कृति संरक्षण गरेकोमा धन्यबाद दिए ।
कार्यक्रममा नेवाः देय् दबूका कोशी प्रदेश सदस्य ओमप्रकाश श्रेष्ठ, केन्दीय पार्षद गणेशकुमार शाक्य, पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण उदास, झापा जिल्ला उपाध्यक्ष ईश्वरा श्रेष्ठ, बिर्तामोड –४ का वडासदस्य केशव श्रेष्ठ, आदर्श टोल विकास संस्थाका अध्यक्ष रामअवतार घिमिरेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा लाखे जात्रा तथा ठाकठुके नृत्य प्रदर्शन समेत गरिएको थियो ।
नेवाः देय् दबू बिर्तामोड नगर समितिका अध्यक्ष छत्रबहादुर श्रेष्ठले नागपञ्चमीको अवसर पारेर बिर्तामोड नगरपालिका वडा नं ९ मा रहेको भिमसेन मन्दिरबाट पूजापाठसहित लाखे जात्रा तथा ठाकठुके नाचको प्रदर्शन शुरु गरिएको र कृष्ण जन्माष्टमीको भोलिपल्ट समापन गरिएको बताए । उनले बिर्तामोडका विभिन्न स्थानमा लाखे जात्रा तथा ठाकठुके नाचको प्रदर्शन गरिएको जानकारी दिए ।
कार्यक्रम अघि लाखे मार्नलाई साधु, हनुमान,भलाखे, देवी तथा श्री कृष्णको झाँकीसहित निकालिएको लाखे जात्रा र्यालीले बिर्तामोड नगर प्ररिक्रमा गरेको थियो ।
कार्यक्रमको सञ्चालन नेवाः देय् दबू बिर्तामोड नगर समितिका सचिव दिलिप श्रेष्ठले गरेका थिए ।