बिर्तामोड । झापाको बिर्तामोड –३ बिर्ताबजारमा रहेको महेन्द्ररत्न माध्यमिक विद्यालयका विद्यार्थीहरुले भित्तेपत्रिका लेखन तथा प्रकाशनमा रुची देखाएका छन् ।
सिर्जना,लेख र रचनात्मकता भावना प्रस्तुत गर्ने माध्यमको रुपमा परिचित भित्तेपत्रिका डिजिटल प्रविधिको विकाससंगै पछिल्लो समय लोप हुँदै गएपछि महेन्द्ररत्न माविले आयोजना गरेको एक दिवसिय भित्तेपत्रिका लेखन कार्यशालामा विद्यार्थीहरुले उत्साहित हुँदै सहभागिता जनाएका हुन् ।
विद्यार्थीहरुको भित्तेपत्रिका लेखन प्रतिभालाई बढावा दिन,सिर्जनशीलता विकास गर्न,रचनात्मक बनाउन, साहित्य र भित्तेपत्रिकामा रुचि जगाउने उद्देश्यले विद्यालयमा रहेको महेन्द्ररत्न वालक्लवको संयोजनमा एक दिवसिय भित्तेपत्रिका लेखन कार्यशाला आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले बताए ।
विद्यालयमा रहेको महेन्द्ररत्न वालक्लवले सुनौलो विहानी मासिक भित्तेपत्रिका प्रकाशन गर्दै आएको कताउँदै उनले कार्यशालापछि यो अझै व्यवस्थित र परिस्कृत हुने जनाए ।
विद्यालयमा अध्ययनरत् कक्षा ७ देखि कक्षा १० सम्मका ४० जना विद्यार्थीहरुलाई एक दिवसिय भित्तेपत्रिका लेखन कार्यशालामा सहभागिता गराइएको वालक्लवका श्रोत शिक्षक पुष्पलाल आचार्यले बताए ।
उनले अगामी दिनमा भित्तेपत्रिकामा सिर्जनशीलता बढाउन, अभिप्रेरणा प्रदान गर्न, निगरानी गर्दे भित्तेपत्रिका प्रकाशनमा विद्यार्थीहरुलाई प्रोत्साहित गरी भित्तेपत्रिकालाई व्यवस्थित गरिने प्रतिवद्धता व्यक्त गरे ।
बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले सहजीकरण गरेको कार्यशालामा सहभागी विद्यार्थीहरुलाई भित्तेपत्रिका भनेको के हो ? भित्तेपत्रिकामा के कस्ता विषय समावेश गरिन्छ ? भित्तेपत्रिका किन प्रकाशन गर्ने ? भित्तेपत्रिका प्रकाशनले के फाइदा मिल्छ ? भित्तेपत्रिकाको सजावट,डिजाइन कसरी गरिन्छ ? भित्तेपत्रिकामा सम्पादकीय कसरी लेखिन्छ ? समाचार भनेको के हो ? समाचारको संरचना, समाचारको बनोट, लगायतका विषयमा सहजकर्ता निरौलाले प्रशिक्षण गराएको विद्यालयका शिक्षक इच्छाराम निरौलाले जानकारी दिए ।
विद्यालयका शिक्षक युवराज कट्टेलले एक दिवसिय भित्तेपत्रिका लेखन कार्यशालामा सिकेको सिपको सदुपयोग गर्दै भित्तेपत्रिका मार्फत समाचारको रुपमा आफ्नो विद्यालयको गतिविधिहरु प्रकाशन गर्न विद्यार्थीहरुलाई आग्रह गरे ।
विद्यालयका शिक्षक तुलसीराम खरेलले एक दिवसिय भित्तेपत्रिका लेखन कार्यशालाले विद्यार्थीहरुलाई आफ्ना प्रतिभाहरू प्रस्तुत गर्न सहयोग पुग्ने,पढाइका साथै अतिरिक्त क्रियाकलापहरूमा पनि आकर्षण बढ्ने र विद्यालय तहबाटै पत्रकारिताको अभ्यास तथा अनुभव गर्ने मिल्ने भएकाले कार्यशाला उपलव्धीमुलक भएको बताए ।
महेन्द्ररत्न वालक्लवका अध्यक्ष रिहान्त दर्नालले एक दिवसिय भित्तेपत्रिका लेखन कार्यशालाले सृजनात्मक कला प्रस्तुत गरी भित्तेपत्रिकामा प्रकाशित गर्नुपर्ने सामाग्रीहरु आफैं तयार गर्न सक्ने सिपको विकास भएको बताए ।
महेन्द्ररत्न वालक्लवका अध्यक्ष रिहान्त दर्नालको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण वालक्लवका श्रोत शिक्षक पुष्पलाल आचार्यले गरेका थिए ।