बिर्तामोड ।  बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं. ५ धर्मकाटा रोडमा मंगलवारबाट हुने एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने भएका छन्। बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको अन्तिम तयारी बारे जानकारी गराउदै यस्तो जानकारी दिएका हुन्।
  आगामी माघ १९ गतेसम्म बिर्तामोड नगरपालिका वडा नं. ५ धर्मकाटा रोडमा हुने  एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको मंगलवार भव्य उद्घाटन गरिने बताउँदै उनले महोत्सव उद्घाटन अघि बिर्तामोड उद्योग वाणिज्य संघको परिसर अतिथी सदनदेखी महोत्सवस्थलसम्म बिभिन्न जातजातिको प्रतिनिधित्व र झाँकीसहित प्रभातफेरीको आयोजना गरिएको जानकारी दिए।
व्यापार, कृषि, उद्यमशीलता, पर्यटन र स्वरोजगारको क्षेत्रलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको बताउँदै  अध्यक्ष  न्यौपानेले महोत्सवको मुख्य प्रायोजन एपोलो पेन्ट्सले गरेको  जानकारी दिए । उनले महोत्सव स्थललाई सुरक्षित बनाउन सीसी क्यामेरा, नेपाल प्रहरी , निजी सुरक्षाकर्मीसमेत परिचान गरिने भएकाले ढुक्क भएर महोत्सवको अवलोकन गर्न उनले आग्रह गरे।
   महोत्सवमा नेपालकै सबैभन्दा ठूलो ह्याङ्गरको प्रयोग गरिएको र उक्त ह्याङ्गर २० हजार स्क्वायर फुट, ३० मिटर चौडाई र ६० मिटर लम्वाइको रहेको   ह्याङ्गारभित्र ११८ वटा स्टल रहन सक्ने महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए ।
महोत्सवमा १५० वटा स्टलहरुमध्ये १४० वटा स्टल बुक भइसकेको र सार्क राष्ट्रका व्यवसायीले स्टल राख्ने र महोत्सवमा गाडीदेखि गार्मेन्टसम्मका स्टल रहने उनको भनाई छ । महोत्सवमा भारत, भुटान, वंगलादेश, पाकिस्तानसहित सार्क मुलुकका उत्पादनहरु पाइने उनले बताए।
अलैंची, अदुवा, कुचो, सुपारी, मसला जस्ता नेपाली कृषिजन्य वस्तुको केन्द्रीय बजार बिर्तामोडमा आयोजना गरिएको यो महोत्सवले कृषि उद्यम र कृषि व्यापारलाई थप प्रवद्र्धन गर्ने अध्यक्ष न्यौपानेले बताए। महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका नागरिकलाई परिचय पत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको  विद्यालय पोशाकमा महोत्सव अवलोकन गर्न आउने विद्यार्थीलाई पनि शिक्षकको रोहवरमा प्रवेश निःशुल्क गरिएको उनले बताए ।
महोत्सवमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने महासचिव कुशल खचिवडाले जानकारी दिए ।
करिव दुई लाखले अवलोकन गर्ने महोत्सवले बिर्तामोडको मात्र नभई कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान बनाउने  महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापाले बताए  । छिमेकी राष्ट्रहरुबाट समेत आएर व्यवसायीले स्टल राख्ने र व्यवसाय प्रवद्र्धनमा समेत टेवा पुग्ने उनको भनाई छ।
महोत्सवमा एकैखाले सामाग्री धेरै भन्दा पनि धेरै खाले सामग्री एकै ठाउँमा उपलब्ध गराउने लक्ष्य रहेको र उपभोक्ताले सबै सामग्री एकै ठाउँमा प्राप्त गर्न सक्ने उनको भनाई छ । सबैखाले मापदण्ड पूरा गरेर  आयोजना गरिएको महोत्सवमा सेल्फी जोनदेखि मूलद्वार कलात्मक बन्ने र सबैखाले उमेर समूहका मानिसले मनोरञ्जन गर्न सक्ने व्यवस्थापन मिलाइएको संयोजक थापाले बताए।
हरेक दिन ट्रेण्डिङ्गमा परेका कलाकारको प्रस्तुति रहने छ भने स्थानीय स्तरका मौलिक पहिचान झल्कने विभिन्न कार्यक्रमको आयोजना गरिने भएकाले  महोत्सवमा सबैलाई सहभागी हुन उनले आग्रह समेत गरे।
आफ्नो व्यवसायको प्रबर्द्धन गर्न एपोलो पेन्ट्सले बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवको मुख्य प्रायोजन गरेको एपोलो पेन्ट्सका मेची अञ्चलको आधिकारिक बिक्रेता एपोलो कलर हाउस बिर्तामोडका सञ्चालक डिल्लीराम कोइरालाले बताए। उनले महोत्सवमा एपोलो पेन्ट्सका उत्पादनहरू समेतको स्टल रहने बताए।
बिर्तामोड उद्योग वाणिज्य संघकी उपाध्यक्ष गोमा भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव कुशल खतिवडाले गरेका थिए।