बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड नगरपालिका वडा नं। ५ धर्मकाटा रोडमा मंगलवारबाट शुरु भएको एपोलो पेन्ट्स बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा बुधबार चर्चित गायक तथा संगीतकार उर्गेन दोङ र चर्चित र्यापर मिस्टर डी (सन्दिप बिष्ट) को प्रस्तुति रहने भएको छ ।
मंगलबारबाट शुरु भएको महोत्सवमा बुधबार युवा पुस्तामाझ रुचाइएका यी दुई युवा गायकलाई स्टेजमा उतारिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले बताए ।
काभ्रेका गायक तथा संगीतकार उर्गेन दोङ रोजगारीका सिलसिलामा केही वर्ष दुबईमा बिताएर तीन वर्षअघि सांगीतिक क्षेत्रमा केही गर्ने सोचले नेपाल फर्किएका थिए ।नेपाल फर्किएसँगै उनी ‘नेपाल आइडल सिजन ३’मा समेत सहभागी हुन पुगेपनि अगाडी बढ्न सकेका थिएनन् । डेढ वर्षअघि आफ्नै शब्द, संगीत, एरेन्ज, स्वर तथा निर्देशनमा ‘टाढा भएपनि’ बोलको गीत ल्याएका उर्गेनका ‘तिमीले चुमेका हात’, ‘दुई दिनको माया’, ‘माया तितोमिठो’ जस्ता गीतहरु दर्शक(श्रोताले एकदमै रुचाइएका छन् ।
त्यस्तै युवा पुस्तामाझ लोकप्रिय र्यापर मिस्टर डी (सन्दिप बिष्ट)ले पनि बिर्तामोडको स्टेज तताउने भएका छन् । दर्शकलाई आकर्षित बनाउन सिपालु मिस्टर डीको बन्दै छ नेपाल, नाच बसन्ती ल है लाई दर्शकले रुचाएका छन् ।
बिर्तामोडमा बुधबार हुने उनीहरुको प्रस्तुतिमा दर्शकको भीड बढ्ने महोत्सव मूल आयोजक समितिका संयोजक विशाल थापाले बताए । यसअघि मंगलबार बेलुकी बिर्तामोड महोत्सवमा चर्चित गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको सांगीतिक प्रस्तुति रहेको बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले जानकारी दिए । उनीहरुले चर्चित तथा लोकप्रिय गीत गाएर दर्शकलाई झुमाएका थिए ।
महोत्सव आगामी माघ १९ गतेसम्म सञ्चालन हुने बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य विश्वेश्वरप्रसाद बजगाईंले जानकारी दिए ।