बिर्तामोड। इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन–२ को अडिसन आगामी चैत २ र ३ गते झापाको बिर्तामोडमा गर्ने तयारी गरिएको छ। विश्वभरमा छरिएर रहेका नेपालीभाषी गीत संगितप्रेमीहरुभित्र लुकेर रहेका अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने  उद्देश्यले हालसम्म कै ठुलो धनराशी पुरस्कार रहेको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन २ को  अडिशन बिर्तामोड हुन लागेको इन्ट्रा–नेशनल वेलफेयरका नेपाल–भारत संयोजक राजेश घतानीले बताए।

अडिसनका लागि आवेदन खुला गरिएको बताउँदै उनले अडिसनमा दुवै विधामा करिब ५ सय जनावढीले आवेदन दिने जानकारी दिए  । हालसम्म एक सय जनाले अनलाइनमार्फत् आवेदन दिइसकेको  उनले जानकारी दिए।
मानविय सेवामा समर्पित इन्ट्रा–नेशनल वेलफेयरले नेपाली भाषा र कला–संगीतलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गर्न लागेको नेपालका लागी  बिर्तामोड संयोजक  रुपक ओडारीले बताए ।
विश्वमा छरिएर रहेका नेपालीलाई एक सुत्रमा बाँध्न पनि प्रतियोगिता आयोजना गर्न लागिएको  बताउंदै ओडारीले  प्रतियोगिता सफल बनाउन सबैको सहयोग अपरिहार्य रहेको जनाए।
हरेक बर्ष आयोजना हुने यो प्रतियोगिताको दोस्रो संकरण भएको र यसबर्ष समेत नेपाल तथा विश्वका विभिन्न नेपालीभाषिहरुको वसोवास रहेको स्थानहरुमा अडिशन सुरु हुन लागेको उनको भनाई छ ।
इन्ट्रा नेशनल बेलफेयर एण्ड सपोर्ट फाउण्डेशनका प्रतियोगिता संयोजक राम बानियांले सन् २०२३ मा अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को  पहिलो अडिसन  गरिएको र यसबर्ष दोस्रो अडिसन आयोजना गरिएको बताए।
आगामी चैत २ र ३ गते विर्तामोडमा ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को  अडिशन राखिएको  उनले जानकारी दिए ।
विश्वभरबाट अडिशन हुने र छनौट भएका उत्कृष्ट प्रतिस्पर्धीहरुलाई काठमाण्डौमा ल्याई प्रतिस्पर्धा गराईने र दुबै विधाका उत्कृष्ट प्रतिस्पर्धी घोषणा गरी प्रथम हुनेलाई जनही १ करोड नगद, दोस्रो हुनेलाई नगद २५ लाख तथा तृतीय हुनेलाई नगद १० लाख रुपैँया प्रदान गरिने तथा समुहगत नृत्य विधामा प्रथम हुने टिमलाई समेत प्रथम हुनेलाई २० लाख, दोस्रो हुने टिमलाई नगद १० लाख र तृतिय हुने टिमले नगद ५ लाख नगद प्राप्त गर्ने उनले बताए।
विश्वभरका नेपालीभाषिहरुले आफ्नो कला र सस्कृति र  नेपाली भाषालाई नभुलुन भनेर उक्त प्रतियोगिता गरिएको र यस प्रतियोगितामा सहभागि हुनका लागि नेपाली मुलको हुनुपर्ने नेपालका लागी  बिर्तामोड संयोजक  रुपक ओडारीले बताए।
‘मेरो भ्वाइस युनिभर्स’ को
निर्णायकहरुमा गायक दिप श्रेष्ठ, शिव परियार, अन्जु पन्त र पुष्पन प्रधान तथा संगितकार सुरेश अधिकारी रहने उनले बताए।
  ‘मेरो डान्स युनिभर्स’को निर्णायकहरूमा कलाकार मिथिला शर्मा, दिलिप रायमाझि, शिल्पा मास्के र कोरियोग्राफरहरु शंकर विसी, कविराज गहतराज र किरण थापा रहेको उनले बताए ।
अन्तर्राष्ट्रिय रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को सिजन–२ को प्रशारण नेपाल टेलिभिजनबाट  गरिने  इन्ट्रा–नेशनल वेलफेयरका नेपाल–भारत संयोजक राजेश घतानीले बताए। ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को प्रतिस्पर्धाका लागि नेपालको बिर्तामोड, काठमाण्डौ, पोखरा र नेपालगञ्ज तथा विदेशका लागि भारतको सिलगुडी र मुम्बई, बेलायत, पोर्चुगल, थाइल्याण्ड, हङकङ्ग, दुबई, कतार र अस्ट्रेलियामा अडिशन हुने बताउदै उनले  ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का लागि १ सय २० जनाका दरले २ सय ४० जनालाई एकसाथ प्रतिस्पर्धाका लागि काठमाण्डौमा लगिने समेत जानकारी दिए ।
प्रतियोगिताका लागि चर्चित उद्घोषक रिमा विश्वकर्मा, नरेश भट्टराई, राजा राजेन्द्र र नम्रता श्रेष्ठले सञ्चालन गर्ने उनले बताए।
   कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ गीतकार  शिवशंकर थापाले यस्ता प्रतियोगिताले आफ्नो भाषा संस्कृतिसँगै कला–संगीतको श्रीबृद्धिमा टेवा मिल्ने बताए। 
उनले यस्ता प्रतिस्पर्धाले नेपाली कला सस्कृतिको जर्गेना हुने तथा  झापाको बिर्तामोडमा अडिशन हुने भएकाले झापाका कलाकारहरुले बढी फाईदा लिनुपर्ने  बताए ।
कार्यक्रममा संगीतकार धुर्ब पाठक, कृष्ण योञ्जन, झलक मगर, देवनारायण भारती,दीपक रायमाझीलगायतले कार्यक्रम सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। कार्यक्रमको सहजीकरण इन्ट्रा–नेशनल वेलफेयरका नेपाल–भारत संयोजक राजेश घतानीले गरेका थिए।