बिर्तामोड। बाह्रदशी कराते संघको आयोजनामा भएको दोस्रो बाह्रदशी जिल्लास्तरीय आमन्त्रित कराते प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले हात पारेको छ।
बिर्तामोडले २३ स्वर्ण, ८ रजत र १ कास्य पदक प्राप्त गरि उपाधि हात पारेको हो । उपाधिसंगै बिर्तामोडले नगद १५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै, आयोजक बाह्रदशी ९ स्वर्ण, १० रजत र १० कास्यसहित द्वितीय हुँदै नगद १० हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो ।
त्यसैगरी अर्जुनधारा ६ स्वर्ण ७ रजत र ५ कास्यसहित तृतीय बन्दै नगद ५ हजार, मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्यो । प्रतियोगितामा उत्कृष्ट खेलाडीमा पुरुष तर्फ बाह्रदशीका राजीव लिम्बु घोषित भए भने महिलातर्फ उर्लाबारीकी सोनिका चेम्जुङ घोषित भइन्।
बाह्रदशी कराते संघका अध्यक्ष डीकबहादुर श्रेष्ठको अध्यक्षता तथा बाह्रदशी गाउँपालिकाका अध्यक्ष देबिन्द्रप्रसाद चम्लागाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बाह्रदशी कराते संघका सचिव सञ्जय शाहले स्वागत गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथी चम्लागाई, बाह्रदशी ५ का वडाध्यक्ष बिरबहादुर राजवंशी, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, बाह्रदशी गाउँपालिका वडा नं ५ खेलकुद विकास समितिका अध्यक्ष शरद बहादुर सिंह , समाजसेवी कृष्णमोहन गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा एशियन गेममा कास्य पदक प्राप्त खेलाडी सीता राई, साफ गेम गोल्डमेडलिष्ट मिना पाठक उप्रेती, राष्ट्रिय खेलाडी लक्ष्मण खड्का, राजिब लिम्बू, सिनीयर भोलेन्टीयर कोच रेनुका राई, भोलेन्टीयर कोच ईन्दू मेचेलगायतलाई सम्मान गरिएको थियो। कार्यक्रममा बाह्रदशीबाट दीक्षित भएका खेलाडीहरूलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
दोस्रो बाह्रदशी जिल्लास्तरीय आमन्त्रित कराते प्रतियोगितामा झापा, मोरङ र ईलामका १२ वटा टीमका २ सय ५० खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ २५ केजीदेखि ६२ केजी तौल समूहको ८ वटा र महिलातर्फ २५ केजीदेखि ५५ केजी तौल समूहको ७ वटा गरी १५ वटा तौल समूहमा प्रतिस्पर्धा गरिएको थियो। प्रतियोगिताको रेफ्री संयोजक विसन मोते र सहायक रेफ्री संयोजकमा मिना पाठक उप्रेती रहेका थिए।
कार्यक्रममा पूर्व चिफ कोच मदनकुमार उप्रेती, राखेपका बरिष्ठ कराते प्रशिक्षक कालु मेचे, नेपाल कराते संघका केन्द्रीय सदस्य मिलनराज प्रसाईसहित रेफ्री र कोचहरूको सहभागिता रहेको थियो।
बाह्रदशी युवा तथा खेलकुद विकास समितिको समन्वयमा भएको कार्यक्रमको सञ्चालन जीवनकुमार धमलाले गरेका थिए।