बिर्तामोड । झापाको बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको तयारी गरिएको छ ।
नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा  बिर्तामोडमा कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीको आयोजना गरिएको नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोख्रेलले जानकारी दिए ।
आगामी जेठ १ देखि ३ गतेसम्म बिर्तामोडस्थित देवी माविमा आयोजना गरिने  कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनीमा एसईईदेखि कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता रहने उनले बताए।

कोशीको प्रत्येक जिल्लाबाट १० वटा र आयोजक जिल्ला झापाबाट थप १० गरी १५० वटा विद्यालय प्रदर्शनीमा सहभागी गराउने बताउँदै उनले ५ सय विद्यार्थीले प्रतिस्पर्धामा भाग लिने जानकारी दिए।
विज्ञान शिक्षक समाजसँगको समन्वयमा हुन लागेको प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो हुने विद्यालयलाई क्रमशः ४ लाख, ३ लाख, २ लाख र १ लाख नगद पुरस्कार प्रदान गरिने र अन्य २५ वटा विद्यालयलाई सान्त्वना पुरस्कार २५ हजारका दरले प्रदान गरिने विभाग प्रमुख पोख्रेलले जानकारी दिए ।
दैनिक एक लाख बिद्यार्थीहरुले विज्ञान प्रदर्शनीको अवलोकन गर्ने र उनीहरूले एआईसहित अन्तरिक्ष विज्ञान समेतको अध्ययन र अवलोकन गर्ने उनले बताए।
कार्यक्रम सम्पन्न गर्न ३५ लाख खर्च लाग्ने अनुमान गरिएको  बताउंदै उनले प्रदर्शनीस्थलमा २० वटा व्यावसायीक शैक्षिक स्टल राखिने र उनीहरूबाट १ लाखका दरले शुल्क लिइने र  कार्यक्रमका लागि अपुग रकम दाताहरुबाट सहयोग लिइने जनाए।
प्रदर्शनीस्थलमा अन्य सहभागी विद्यालयलाई निःशुल्क स्टल उपलब्ध गराउने उनको भनाई छ ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश ईञ्चार्ज शेरधन राईले नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभागको आयोजनामा  बिर्तामोडमा  हुने कोशी प्रदेशस्तरीय विज्ञान प्रदर्शनी नौलो कार्यक्रम भएको बताए। यो प्रदर्शनीले झापासहित कोशी प्रदेशलाई समृद्ध बनाउने उनको भनाई छ।
नेकपा एमाले कोशीको विज्ञान तथा प्रविधि विभाग प्रमुख गणेश पोख्रेलको अध्यक्षता तथा नेकपा एमाले कोशी प्रदेश ईञ्चार्ज शेरधन राईको प्रमुख आतिथ्यमा  भएको कार्यक्रमको सञ्चालन विभागका सचिव आर्जन वाग्लेले गरेका थिए।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा झापा ईञ्चार्ज रोमनाथ ओली, झापा अध्यक्ष प्रेम गिरी, विभागका सदस्य डाक्टर तुलसीप्रसाद निरौला, लक्ष्मीप्रसाद बांस्कोटा, शेखर कँडेल, खड्गमाया पराजुली, प्रमुख सल्लाहकार  माधव बिद्रोही, कोशी प्रदेश सदस्य रोजीना पाण्डे , नेकपा एमाले झापा उपाध्यक्ष शिव ढुङ्गेल, बाह्रदशी अध्यक्ष अनिल सापकोटा, पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरीलगायतको सहभागीता रहेको प्रेस चौतारी झापा अध्यक्ष प्रदिप परियारले जानकारी दिए।