बिर्तामोड। प्रथम आमन्त्रित अन्तर्राष्ट्रिय कराते प्रतियोगिता भद्रपुरमा शुरू भएको छ।
नेपाल सितेरियो सोबुकान कराते डो झापाको आयोजनामा भएको प्रतियोगितामा नेपाल, भारत, भुटानका पाँच सय भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिता अन्तर्गत १० वर्ष मुनिको ,१२वर्ष मुनिको , १४ वर्ष मुनिको र १५ वर्ष माथिका महिला , पुरुष खेलाडीहरू र महिला , पुरुष खेलाडीहरूको एकल कातामा प्रतिष्पर्धा गरिने नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईले बताए।
प्रतियोगितामा विजेता तीन सय भन्दा बढी खेलाडीहरूसहित टीम फस्ट, टीम सेकेन्ड र टीम थर्ड, वेस्ट फाइटर महिला र पुरुषलाई ट्रफी, मेडल र प्रमाणपत्र समेत प्रदान गरिने उनले बताए।
प्रतियोगिता आयोजक समितिका अध्यक्ष श्याम राईको अध्यक्षता तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशका सदस्य सचिव पर्शुराम बस्नेतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
कराते महासंघका पूर्व प्रमुख प्रशिक्षक मदन उप्रेतीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा प्रमुख अतिथी बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीलगायतले शुभकामना दिएका थिए।
कार्यक्रममा नेपाल सितेरियो सोबुकान कराते डोका प्रमुख प्रशिक्षक साजन श्रेष्ठ, मदन भण्डारी स्पोर्ट्स एकाडेमीका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश ईञ्चार्ज तुलसी मैनाली, भद्रपुर झापा गोल्डकप अध्यक्ष दिपेश ढकाल, भद्रपुर ८ का वडाध्यक्ष मनोज सुब्बा, झापा जिल्ला बक्सिङ संघका अध्यक्ष युवराज खड्का, झापा जिल्ला हक्की संघका अध्यक्ष मनोज बुढाथोकीसहितविधाका अध्यक्ष तथा प्रशिक्षकहरूको सहभागिता रहेको थियो।
अन्तर्राष्ट्रिय रेफ्री विसन मोते रेफ्री संयोजक रहेको कार्यक्रमको सञ्चालन नेपाल कराते महासंघका केन्द्रीय सदस्य मिलनराज प्रसाईले गरेका थिए।