बिर्तामोड। झापाको बिर्तामोडस्थित धौलागिरी पारीजात बहुद्देश्यीय सहकारी संस्थाले आफ्ना कर्मचारीलाई सुरक्षाको प्रत्याभूति दिन माग गरेको छ।
  संस्थाका ऋणी खगेन्द्र क्षेत्रीले संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पौडेल र संस्थाका सदस्य तथा ऋण असुली समिति संयोजक भीमबहादुर पौडेललगायतलाई ज्यान मार्ने धम्की दिएको घटनाप्रति आपत्ति जनाउँदै संस्थाले दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको हो।
   झापा साविक बुधबारे ६ हाल विर्तामोड नगरपालिका वडा नम्बर १ मा बस्दै आएका खगेन्द्र क्षेत्रीले संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पौडेललाई बिहीबार बिहान फोन गरी घरमै आएर ज्यान मार्ने धम्की दिएको  संस्थाका अध्यक्ष किशोर भट्टराईले जानकारी दिए । 
ऋणी क्षेत्रीले संस्थाबाट २०७७ साल चैत्र २ गते २५ लाख ऋण लगेको र सो सावाँको हालसम्म ४४ लाख २९ हजार ३४५ रुपैया ऋण पुगेको बताउँदै उनले उक्त रकमको ताकेता गर्न संस्थाका सञ्चालक समिति सदस्य तथा ऋण असुली समिति संयोजक भिमबहादुर पौडेल ऋणी क्षेत्रीको घरमा जाँदा  उनले घरभित्रबाट कत्ति निकालेर ज्यान मार्ने धम्की दिएको  जनाए।
संस्थाले कानुनी बाटोबाट जानकारी गराउन पत्राचार गरेपछि कार्यकारी प्रमुख पौडेलमाथि क्षेत्रीले फोन गरेर धम्क्याएको बताउँदै संस्थाका अध्यक्ष  भट्टराईले दोषीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरे ।
ऋण असुलीका लागि संस्थाले पत्राचार गरेपछि कार्यकारी प्रमुख कृष्ण पौडेललाई व्यक्तिगत नम्बरमा फोन गरी घर मै आएर कत्ती हान्ने सम्मको धम्की दिएको घटना अत्यन्त निन्दनीय र भर्त्सनायोग्य भएको बताउँदै उनले संस्थागत व्यवहार संस्थागत रुपमा छलफल हुनुपर्नेमा कर्मचारीलाई धाकधम्की दिने कुराले कानुनको समेत बर्खिलाप गरेको जनाए ।
सहकारी अभियानमाथि चौतर्फी आक्रमणको घटना भइरहेको अवस्थामा यस्ता घटनाले सिंगो सहकारीमा कार्यरत कर्मचारीहरुको मनोबल घटाउने र ऋण लिएर तिर्नुपर्दैन भन्ने मनस्थिती भएका व्यक्तिहरुलाई मलजल पुग्ने भएकाले निज खगेन्द्र क्षेत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न  उनले प्रशासन समक्ष जोडदार माग गरेका छन् ।  उनले संस्थामा कार्यरत कर्मचारीहरुको सुरक्षाको  समेत स्थानीय प्रशासन समक्ष माग गरेका छन् ।
एउटा सदस्यहरुले गरेको बचत अर्को सदस्यलाई ऋणको रूपमा दिइने भएकाले समयमा सावा ब्याज नबुझाउँदा सहकारी समस्यामा पर्ने  बताउंदै अध्यक्ष भट्टराईले सदस्यले लिएको ऋण समयमा तिर्नु नैतिक दायित्व भएकाले  समयमा सावाँ ब्याज भुक्तानी नगर्ने सदस्यहरु ऊपर कानुनी कारबाही गर्न आफूहरू बाध्य हुने जनाए।
कोअपरेटिभ मेनेजर्स क्लबका झापा सदस्य पर्वत चिमरियाले कर्मचारीमाथि हुने प्रहार सैह्य नहुने बताउँदै यस्ता घटनालाई प्रशासनले गम्भीरताका साथ अनुसन्धान गरी तत्काल कारबाही गर्नुपर्ने  माग गरे । संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण पौडेलले आफूले ऋण असुलीका लागि ऋणी क्षेत्रीलाई संस्थाको तर्फबाट पत्राचार गरेको बताउंदै  ऋणी क्षेत्रीले आफूलाई व्यक्तिगत नम्बरमा फोन गरी घर मै आएर कत्ती हान्ने सम्मको धम्की दिएको जनाए। उनले ऋणी क्षेत्रीलाई हदैसम्मको कारबाही गर्न प्रशासन समक्ष जोडदार माग समेत गरेका छन्।