बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायिक सदस्य राहत कोषमा हालसम्म ५६ जनाबाट २० लाख ४५ हजार १ सय ९१ रूपैयाँ जम्मा भएको जनाएको छ।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ठ सदस्य निर्मल भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा बिर्तामोड उद्योग बाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले बिर्तामोड उद्योग बाणिज्य संघ व्यवसायिक सदस्य राहत कोष सञ्चालन कार्यविधि वाचन गरी यसबाट गरिने कार्यहरूको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
कार्यक्रममा व्यवसायिक सदस्य राहत कोषमा हालसम्म ५६ जनाले २० लाख ४५ हजार १ सय ९१ रूपैयाँ जम्मा भएको बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायिक सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे राजुले बताए।
बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायीहरूले आफ्नो जन्मदिन, वैवाहिक बर्षगाठलगायतमा राहत कोषमा रकम प्रदान गरिरहेको बताउँदै उनले राहत कोषमा रकम प्रदान गर्ने दाताहरुलाई धन्यवाद ज्ञापन गरेका छन्।
आफूहरूले एक करोड रुपैयाँको व्यवसायिक सदस्य राहत कोष स्थापना गर्ने लक्ष्य राखेको बताउँदै उनले हालसम्म व्यवसायीहरूले उत्साहपूर्वक राहत कोषमा रकम प्रदान गरिरहेको जनाए।
राहत कोषको ब्याजबाट प्राणघातक रोग मृगौला, क्यान्सर रोग लागेका व्यवसायीहरूलाई समेत राहत रकम प्रदान गरिने उनले जानकारी दिए।
कार्यक्रमको सञ्चालन बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव कुशल खतिवडाले गरेका थिए।