बिर्तामोड। आफूले जोतभोग गर्दै आएको जमिन उपभोग गर्न पाउनु पर्ने वचनवंशी कवीर आश्रम समितिले माग गरेको छ । आफूले जोतभोग गर्दै आएको जमिन उपभोग गर्न पाउनु पर्ने माग गर्दै वचनवंशी
कवीर आश्रम समितिले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल समक्ष यस्तो माग गरेको हो।
२०२० सालमा जिमदार देवीप्रसाद उप्रेतीले वचनवंशी कवीर आश्रमको नाममा ४ बिगाह जग्गा दर्ता गरिदिएका भए पनि सरकारी अमिनले २०५२ सालमा संस्थाको नाममा नापेको जमिन २ विगाह १६ कठ्ठा जग्गा रहेको पूर्व वार्ड अध्यक्ष कोमलप्रसाद पन्तले बताए ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताले उक्त जमिन वचनवंशी कवीर आश्रमकै भएकाले उनीहरुले नै उपभोग गर्न पाउनु पर्ने बताएका थिए।
कार्यक्रममा कनकाई- ४ का वडाध्यक्ष रोशन सुवेदीले कवीर आश्रमकै जग्गा भएकाले आफूहरूले जग्गाको संरक्षण गर्न घेराबारा गरेको बताए।
जग्गा हडप्न बाह्य शक्तिको सहयोग लिएर छिमेकी गाउँपालिकाका आफूलाई प्रतिष्ठित सम्झने र जनताका नजरमा जालझेल गर्ने मानिस लागिपरेको अवस्था रहेकाले कवीर आश्रमको जग्गा संरक्षण गर्न आफूहरु अग्रसर भएको उनको भनाई छ।
कार्यक्रममा सहभागी वार्ड अध्यक्षहरु भीष्मभूषण सिटौला, लीलाबहादुर कटुवाल, युवराज चम्लागाईं, कार्यपालिका सदस्यहरु कृष्णमाया भुजेल, नरादेवी मगर, जनप्रतिनिधिहरू शेषराज प्रसाईं (राजु), मोहन संग्रौला, मन्दिरा दियाली, सुलभ भण्डारी, हरि राई, निर्मला खड्का, गोविन्द सुवेदी, अनिल गोयललगायतले पनि कवीर आश्रमको नाममा रहेको जमिन उनीहरूले नै उपभोग गर्न पाउनु पर्ने बताएका थिए।
कविरकुटी संस्थाका उपाध्यक्ष इन्द्रकुमारी पाण्डे, सदस्यहरू टहलदास नेपाल, भूपाल मैनाली, सल्लाहकार सीताराम निरौला, सदस्य खगेन्द्र पाण्डे, स्थानीयहरू नन्दकुमारी मिश्र, देवेन्द्र मिश्र, धनमाया दाहाल, सुकबहादुर प्रधान, खेम शिवाकोटी, लालबहादुर ओझा, देवेन्द्र मैनाली, बलराम अधिकारी लगायतले कविर आश्रमको २ बिगाहा १६ कठ्ठा जग्गा संरक्षण गरिनुपर्नेमा जोड दिएका थिए ।
२०६७ सालमा एमाले, माओवादी केन्द्र, नेका, राप्रपा, जनमुक्ति पार्टी, संघीय समाजवादी लगायतका दलले कविर आश्रमको जग्गा सुरक्षित हुनुपर्ने आआफ्ना पार्टीको प्याडमा लेखेर दिएको उनीहरूको भनाइ छ।
वचनवंशी कवीर आश्रम कनकाई ४ का अध्यक्ष रोमबहादुर बुढाथोकीको अध्यक्षता तथा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियोे ।
कार्यक्रममा प्रमुख अतिथी पोखरेलले कनकाई नगरभित्र रहेका सार्वजनिक सम्पत्तिको रक्षा गर्नु स्थानीय सरकारको दायित्व भएको बताउँदै आफूहरूले कवीर आश्रमको जमिन संरक्षण गरेको जनाए।
मेयर पोखरेलले वचनवंशी कवीर आश्रम समितिले आफूले जोतभोग गर्दै आएको जमिन उपभोग गर्न पाउनु पर्ने माग गर्दै कनकाई नगरपालिकासँग लिखित अनुरोध गरेकाले नगरले आवश्यक कदम चालेको बताए ।
नगरपालिकाको सार्वजनिक जग्गा संरक्षण गर्ने अभिभारा भएको बताउँदै उनले उक्त जमिन संरक्षण गर्नु आफ्नो कर्तव्य भएको जनाए।
सो जग्गा क्षेत्र भित्र देवेन्द्र मिश्र, दिनेश शिवाकोटी, सरस्वती ठाकुर, दिनेश मैनाली, नैनकला मिश्र, दयाराम उप्रेती, मोहन शिवाकोटी लगायत ९ घर रहेकोमा ६ घर परिवार कवीर आश्रम समिति र कनकाई नगरपालिकाको निर्णय मान्न तयार भएपनि नैनकला मिश्र, दिनेश मैनाली र दयाराम उप्रेतीले मात्रै जग्गा छोड्न नचाहेको कारण समस्या सृजना भएको बताइएको छ ।




















