बिर्तामोड। एमआरआर टीम कोरियाले गत भदौ २३ र २४ गते देशव्यापी रूपमा सञ्चालन भएको जेनजी आन्दोलनबाट शहीद भएका र घाइते भएका व्यक्तिलाई आर्थिक सहयोग गरिरहेको छ ।
यसैक्रममा एमआरआर टीम कोरियाले पहिलो चरणमा झापाका एक जना शहीद र नौ जना घाइतेलाई आर्थिक सहयोग गरेको हो।
झापामा जेनजी आन्दोलनबाट एक जना शहीद अर्जुनधाराका दिनेश राजवंशीलाई ५० हजार र अन्य घाइते ८ जनालाई ३० हजार र एक जनालाई २० हजार रूपैयाँ सहयोग स्वरूप प्रदान गरिएको सहयोग अभियानका संयोजक शरद जोशीले बताए। शहीद परिवार र घाइतेहरूको उपचार तथा सहायताका लागि एमआरआर टिम कोरियाद्वारा सुजन उप्रेतीको संयोजनमा अभियान सञ्चालन गरिएको र कोरियामा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले संकलन गरेको रकम नेपालका विभिन्न जिल्लामा रहेका एमआरआर सदस्य तथा सामाजिक अभियन्तामार्फत शहीद र घाइतेहरूको आर्थिक अवस्था अध्ययन गरी वितरण गर्ने कार्य थालिएको उनले बताए। हालसम्म यो अभियान झापा, काठमाडौं, पोखरा, चितवन लगायतका प्रभावित स्थानमा सञ्चालन भइरहेको बताउँदै उनले झापा जिल्लामा पहिलो चरणमा १ जना शहीद परिवार र ९ जना घाइतेहरूलाई सहयोग प्रदान गरिएको जनाए। झापामा एक जना शहीद परिवारलाई ५० हजार , ८ जना घाइतेलाई जनही ३० हजार र एक जना घाइतेलाई २० हजार गरी हालसम्म ३ लाख २० हजार रुपैयाँ सहयोग गरिएको एमआरआर झापाका सक्रिय सदस्य
दिवाकर गुरुङले जानकारी दिए ।
झापा अर्जुनधाराका शहीद दिनेश राजवंशीको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिएको उनले बताए।
गोली लागेर घाइते भएका कन्काईका सुशन रणपहेँली , कन्काईकै रिजन दाहाल , इलाम सूर्योदयका राजेश पोर्तेल , दमकका सुरेश खड्का , झापा गाउँपालिकाका मस्ताकिन मियाँ , हल्दिवारीका अनिश श्रेष्ठ, अर्जुनधारा कप्तानवारीका विवेक दनुवारलाई जनही ३० हजारका दरले सहयोग प्रदान गरिएको उनले बताए।
त्यस्तै बिर्तामोडका सुमित शाहलाई २० हजार रुपैयाँ सहयोग गरिएको उनले बताए।
त्यस्तै विर्तामोड ५ का २१ बर्षिय सुनिल तामाङलाई एमआरआर टीम झापाले ३० हजार रूपैयाँ सहयोग स्वरूप प्रदान गरेको एमआरआर टीम झापाका सक्रिय सदस्य विपिन आचार्यले बताए। पहिलो चरणमा १० जनालाई सहयोग प्रदान गरिएको र आगामी दशैं लगत्तै अन्य घाइतेहरूको अवस्था तथा आर्थिक पृष्ठभूमि अध्ययन गरी दोस्रो चरणमा सहयोग वितरण गरिने उनले बताए । गम्भीर प्रकृतिका घाइतेहरूलाई थप सहयोग प्रदान गरिने समेत उनको भनाई छ । यदि कुनै शहीद परिवार वा घाइते आर्थिक अभावमा छन् र तत्काल सहयोगको आवश्यकता छ भने सम्पर्क गर्न अभियानका संयोजक शरद जोशीले आग्रह समेत गरेका छन्।
जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीसंगको झडपमा परी तीनजनाको मृत्यु भएको थियो भने सयभन्दा बढी घाइते भएका थिए । सबैजना घाइतेहरु उपचारपछि डिस्चार्ज भइसकेका छन् । घाइतेहरुलाई बिर्तामोडको बीएण्डसी , बिर्तासिटी , मनमोहन , दमक अस्पताल दमक , नोवेल विराटनगर , वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको बताइएको छ।




















