बिर्तामोड। अन्तर्राष्ट्रिय झापाली समाजको अध्यक्षमा महेन्द्रप्रसाद चम्लागाई निर्विरोध निर्वाचित भएका छन्।
झापाको बिर्तामोडमा सम्पन्न अन्तर्राष्ट्रिय झापाली समाजको पाँचौ महाधिवेशनले चम्लागाईको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो।
अन्तर्राष्ट्रिय झापाली समाजको नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दिपक चुडाल, उपाध्यक्षहरूमा नवीन पोखरेल र चूडामणि कार्की , महिला उपाध्यक्षमा सीता पाण्डे निर्विरोध निर्वाचित भएका छन्।
त्यस्तै महासचिवमा चिरन खवास, सचिवहरूमा भवानीप्रसाद कोइराला र अजय राजबंशी, कोषाध्यक्षमा उमेश पोखरेल, सह–कोषाध्यक्षमा रबिन गिरी निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, क्षेत्रीय संयोजकको रूपमा मध्यपूर्व क्षेत्रका लागि केशव कार्की (कतार), युरोपका लागि लोकेन्द्र नेपाल (बेल्जियम), ओसियानाका लागि निरञ्जन प्रसाई (अष्ट्रेलिया) र अमेरिकाका लागि आशिष सङ्ग्रौला (अमेरिका) चयन भएका छन् भने उप–क्षेत्रीय संयोजकमा मध्यपूर्वका टिका धिताल (ओमान), युरोपका प्रकाश गिरी (नेदरल्याण्ड्स) र अमेरिकाका डिल्ली थापा (अमेरिका) चयन भएका छन् । त्यसैगरी सदस्यमा गोपाल प्रसाद आचार्य (साउदी अरेबिया) चयन भएका छन् भने
बाँकी रहेका रिक्त पदहरु कार्यसमितिको पहिलो बैठकबाट मनोनित हुने प्रमुख निर्वाचन आयुक्त समाजका संरक्षक दिनेशकुमार पाेखरेलले जानकारी दिए | समाजका संरक्षक दिनेशकुमार पाेखरेलले नवनिर्वाचित पदाधिकारीहरूको नाम घोषणा गरेका थिए ।
उनले अध्यक्ष चम्लागाईसहित नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए।
अन्तर्राष्ट्रिय झापाली समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष दीपक चुडालले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरी, कलाकार अशोक शर्मा, पत्रकार टिकाराम यात्री लगायतले शुभकामना मन्तव्य राख्दै झापाको विकासका अभियानमा समाजले गरेको योगदान प्रशंसनीय भएको बताए ।
कार्यक्रममा देवीप्रकोप, बाढी, भूकम्प लगायतका प्राकृतिक विपद्मा सहयोग गर्ने दाताहरूलाई विशेष सम्मान गरिएको थियो भने समाजका पूर्वअध्यक्षहरू दीपक ओली, भवानी ओली, दिनेश पोखरेल लगायतलाई समाजप्रति दिएको योगदानको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजका अध्यक्ष मुकुन्द ढुङ्गानाले झापाली प्रवासीहरूको एकता, सहयोग र सामाजिक उत्तरदायित्वलाई मुख्य उद्देश्य बनाउँदै अन्तर्राष्ट्रिय झापाली समाजले विगतका वर्षमा शिक्षा, स्वास्थ्य, प्राकृतिक विपद् राहत र सामाजिक अभियानमा उल्लेखनीय कार्य गर्दै आएको जानकारी दिए ।
उनले झापामा रहेका बिपन्न विद्यार्थीका लागि छात्रवृत्ति वितरण, अस्पताललाई औषधि सहयोग, बाढीपीडितका लागि राहत संकलन र विदेशमा रहेका श्रमिकलाई आपतकालीन सहयोगजस्ता कार्यक्रम निरन्तर सञ्चालन भइरहेको बताए ।
समाजका नवनिर्वाचित अध्यक्ष चम्लागाईले अन्तर्राष्ट्रिय झापाली समाजले विगतमा झापा र विदेशमा बसेका झापालीबीच सम्बन्ध सुदृढ पार्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । उनले आफ्नो कार्यकालमा समाजलाई नयाँ उचाईमा पुर्याउने बताए।
समाजका नवनिर्वाचित महासचिव खवासले बिर्तामोडमा भएको पाँचौँ महाधिवेशनले “प्रवासी झापालीहरूको सीप, स्रोत र सोच झापाको विकासमा” भन्ने नाराका साथ आगामी कार्ययोजना तय गरेको बताए। समाजले अब झापामा लगानी र सामाजिक जिम्मेवारीका अभियानलाई सशक्त रूपमा अघि बढाउने उनले बताए।
नृत्य, कमेडीलगायत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन अन्तर्राष्ट्रिय झापाली समाजका महासचिव नविन पोखरेलले गरेका थिए ।




















