बिर्तामोड। झापाको बाह्रदशी -६ साधुकुटीस्थित श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समिती तथा गुरुकुल कञ्चनगढधाम, साधुकुटीको आयोजनामा श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञको तयारी गरिएको छ।
प्राचीन, ऎतिहासिक पुरातात्त्विक महत्वको प्रसिद्ध तिर्थस्थल कञ्चनगढधाम, साधुकुटीलाई राष्ट्रिय स्तरबाट नै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, गुरुकुल बचाउने अभियान , धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बालाचतुर्दशीको अवसरमा आगामी कात्तिक २६ गतेदेखि श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञ आयोजना गरिएको महायज्ञ आयोजक समितिका अध्यक्ष श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समिती तथा गुरुकुल कञ्चनगढधाम, साधुकुटीका अध्यक्ष ज्ञानु सुवेदीले बताए।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुप्रसिद्ध कथावाचक धर्मगुरु व्यासाचार्य किशोर गौतमको पावन सानिध्यतामा साङ्ग्वेद संस्कृत मावि विवेकाश्रम चारपानेका पूर्व प्राचार्य कथावाचक आचार्य दामोदर न्यौपानेको कथा प्रवचन तथा पण्डित हेमलाल ढकालको पाठपारायण रहने महायज्ञ कात्तिक २६ गतेदेखि मङ्सिर ४ गते सम्म सञ्चालन गरिने उनले बताए।
कार्यक्रममा श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समितिका सदस्य पुण्यप्रसाद पाठकले स्वागतसहित कार्यक्रमको गतिबिधीबारे प्रकाश पारेका थिए।
श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रमको ३५ औं वार्षिक अनुष्ठान र संस्थाद्वारा
सञ्चालित गुरुकुलको १८ औं बार्षिकोत्सवको अवसरमा श्रीमद् सौर्य महापुराण धनधाञ्याचल विराट ज्ञान महायज्ञको साथै जपात्मक , पाठात्मक, हवनात्मक कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए।
उनले बालाचतुर्दशीको दिन हजारौं भक्तजनलाई सत्बीज छर्ने व्यवस्था मिलाइएको बताए।
अनुष्ठानको बीच बिभिन्न धार्मिक गुरूहरूको प्रवचन कार्यक्रम गरिने, कात्तिक ३ गते साँझ गंगा आरती गरिने उनको भनाई छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुप्रसिद्ध कथावाचक धर्मगुरु व्यासाचार्य किशोर गौतमद्वारा उद्घाटन गरिने महायज्ञको समापन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुप्रसिद्ध कथावाचक ईश्वरकृष्णजी महाराजले गर्ने उनले बताए।
उनले बालाचतुर्दशीको साँझ आफ्ना पितृको नाममा महाबत्ती बाल्न आउने भक्तजनलाई नि: शुल्क आवास र भोजनको व्यवस्थापन गरिएको र पुराण सुन्न टाढाबाट आउने भक्तजनलाई नि: शुल्क आवास र भोजनको व्यवस्थापन गरिएको बताए।
कार्यक्रमको सञ्चालन श्री गौरीशंकर शिवालय गायत्रीस्वरुपाश्रम संरक्षण समितिका सहसचिव तथा गुरुकुलका प्रधानाध्यापक मनोज खतिवडाले गरेका थिए ।




















