बिर्तामोड। राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी एकतापक्ष, कोचिला संघर्ष समिति, संघीय लिम्बुवान पार्टी नेपालबीच एकीकरण भएको छ।
झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रममा पहिचान पक्षधर राजनीतिक पार्टीहरूको एकता घोषणा गरिएको हो। राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी एकतापक्ष, कोचिला संघर्ष समिति, संघीय लिम्बुवान पार्टी नेपालबीच एकीकरण भएर राष्ट्रिय मुक्ति पार्टी नेपाल रहने भएको छ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो , नेपाल जनमुक्ति पार्टी एकतापक्षबाट सञ्जुहाङ पालुङ्वा, कोचिला संघर्ष समितिका संयोजक त्रीनारायण राजवंशी र संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङ्देनले सहमति पत्रमा हस्ताक्षर गरेका थिए। एकीकरण भएर बनेको राष्ट्रिय मुक्ति पार्टी नेपालको अध्यक्षमा राजेन्द्र महतो, वरिष्ठ नेता सञ्जुहाङ पालुङ्वा, उपाध्यक्ष त्रीनारायण राजवंशी, मित्र लिङ्देन रहने बताइएको छ।
कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो , नेपाल जनमुक्ति पार्टी एकतापक्षका नेता सञ्जुहाङ पालुङ्वा, संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष मित्र लिङ्देन,राष्ट्रिय मुक्ति पार्टी नेपालकी बरिष्ठ उपाध्यक्ष कमला गुरुङ , प्रवक्ता रवीन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टीका कार्यकारी सदस्य रमेश राई, सुमन सायमीलगायतले देशलाई नयाँ दिशा दिन चार पार्टीबीच एकीकरण गरेको बताए। कोचिला संघर्ष समितिका संयोजक त्रीनारायण राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव सन्तोष मेहताले स्वागतसहित औचित्यमाथी प्रकाश पारेको थिए।
कार्यक्रमको सञ्चालन नेपाल जनमुक्ती पार्टीका महासचिव लासिम पालुङ्वाले गरेको संयुक्त पहिचानवादी मोर्चा संगठन विभाग प्रमुख तथा झापा संयोजक एलवी पालुङ्वाले जानकारी दिए।




















