बिर्तामोड। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन झापाले प्याब्सनको ३५औं स्थापना दिवस सांस्कृतिक पहिचान झल्कने सामूहिक सांस्कृतिक नृत्य , एकल शास्त्रीय नृत्य तथा गायन प्रतियोगिता गरी मनाउने तयारी गरेको छ।
प्याब्सन झापाले आगामी पौष २४ गते बिहीबार बिर्तामोडस्थित सिटीसेन्टर प्राङ्गणमा ३५औं स्थापना दिवस झापाजिल्लास्तरीय सांस्कृतिक पहिचान झल्कने सामूहिक सांस्कृतिक नृत्य , एकल शास्त्रीय नृत्य तथा गायन प्रतियोगिता गरी मनाउने तयारी गरिएको प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीले जानकारी दिए।
प्याब्सन झापामा आबद्ध झापा जिल्लाका १४ पालिकाका पालिकास्तरीय प्रतियोगिताबाट प्रथम भएका विद्यार्थीहरू उक्त झापाजिल्लास्तरीय प्रतियोगितामा सहभागी हुने उनले बताए।
झापा जिल्लास्तरीय सामूहिक सांस्कृतिक नृत्य प्रतिस्पर्धा, एकल शास्त्रीय नृत्य प्रतिस्पर्धा, १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको गायन प्रतिस्पर्धा, १२ वर्ष माथिका विद्यार्थीको गायन प्रतिस्पर्धा, र ११/१२ कक्षाका विद्यार्थीको गायन प्रतिस्पर्धा तय गरिएको उनले बताए ।
प्याब्सन झापाले जिल्लाभरबाट संस्थापक प्रिन्सिपलमा बिराटज्योति अंग्रेजी माबिका संस्थापक प्रिन्सिपल गणेशप्रसाद ओली, देबकुल अंग्रेजी माबिका संस्थापक प्रिन्सिपल धरणिरस मैनाली र रूपरत्न अंग्रेजी माबिका संस्थापक प्रिन्सिपल प्रभुकुमार श्रेष्ठलाई सम्मान गरिने उनले बताए।
त्यस्तै टावर टेम्पल अंग्रेजी माबिका संस्थापक प्रिन्सिपल स्वर्गीय नरेशमान धिमाललाई मरणोपरान्त संस्थापक सम्मान र संस्थागत बिद्यालयमा अबिछिन्न कार्यरत् शिक्षक सम्मान हरीकूल नमूना माबिका मुक्ति दाहाललाई सम्मान प्रदान गरिने उनले बताए।
त्यस्तै प्याब्सन अर्जुनधारा पालिकालाई उत्कृष्ट पालिका सम्मान र एक जना पत्रकारलाई सम्मान गरिने अध्यक्ष कार्कीले बताए ।
सोही कार्यक्रममा एसईई २०८१ मा प्याब्सन सदस्य बिद्यालयबाट १५ जना ४जीपीए प्राप्त विद्यार्थीलाई प्रशंसा पत्रद्वारा सम्मानित गरिने उनले बताए ।
प्रतियोगितामा झापाका ४ हजार २ सय २७ विद्यार्थीहरूको पालिकास्तरबाट प्रतिस्पर्धा हुँदै गायन प्रतिस्पर्धामा ४२ जना, शास्त्रीय नृत्यमा १४ जना, र सांस्कृतिक नृत्यमा २ सय १० जना विद्यार्थी सहभागी हुने प्याब्सन झापाका बरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकले बताए।
कार्यक्रमको मुख्य प्रायोजक अलस्का अटोमोबाइल्स रहेको र कंगारु एजुकेसन फाउन्डेसन र बीएण्डसी मेडिकल कलेज प्रायोजकमा रहेको उनले बताए।
कार्यक्रमको तयारी र ब्यबस्थापन प्याब्सन बिर्तामोडले गरेको प्याब्सन बिर्तामोडका अध्यक्ष सुरेन्द्र खरेलले बताए।
यस कार्यक्रमको आयोजनाले झापा जिल्लाका विद्यार्थीहरूको सांस्कृतिक र शैक्षिक विकासमा ठूलो योगदान पुर्याउने प्याब्सनका देवेन्द्र हुमागाईले बताए।
उनले उक्त कार्यक्रम अवधिभर कनकाई हस्पिटलले स्वास्थ्य उपचार सहयोग गर्ने जानकारी दिए।
कार्यक्रममा अलस्का अटोमोबाइल्सका कर्पोरेटिभ सञ्जिब ओलीले प्याब्सन झापाको आयोजनामा हुने झापा जिल्लास्तरीय सांस्कृतिक कार्यक्रमको प्रायोजन गर्न पाउँदा खुशी लागेको बताए। उनले अलस्का अटोमोबाइल्सका ईभी गाडीहरू खरिद गर्न सबैलाई आग्रह समेत गरे।
कार्यक्रमको सञ्चालन प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले गरेका थिए।




















