बिर्तामोड । प्रदेश नं. १ को नाम पहिचानको आधारमा हुनुपर्ने माग राख्दै पटक –पटक सडक आन्दोलन गर्दै आएका पहिचानवादी पार्टी मध्येका ६ वटा पार्टीहरूबीच झापाको बिर्तामोडमा एकता भएको छ ।

राष्ट्रिय जनमुक्ति पार्टी (संघिय परिषद), संघीय लिम्बूवान पार्टी (केन्द्रिय समिति), कोचिला संघर्ष समिति (केन्द्रिय समिति), संघीय खम्बुवान लोकतान्त्रिक पार्टी (केन्द्रिय समिति), लिम्बूवान राष्ट्रिय समिति लोसपा (केन्द्रिय समिति) र किराँत लिम्बूवान प्रदेश नामाङ्कन अभियान (केन्द्रिय समिति) बीच पार्टी एकीकरण भएको हो ।

पछिल्लो समय पहिचानको आन्दोलन कमजोर भएको निष्कर्स निकाल्दै त्यसलाई सशक्त बनाउन झापाको बिर्तामोडमा भएको बृहत् छलफलपछि ६ वटा पार्टीहरूबीच एकीकरण भएको हो ।

एकीकृत पार्टीको संयोजकमा राष्ट्रिय जनमुक्ति पार्टी (संघिय परिषद)का अध्यक्ष केपी पालुङ्वा रहने र अरु ६ पार्टीका अध्यक्ष तथा पदाधिकारीहरु सम्मिलित कार्यसम्पादन समिति गठन गरिएको छ ।

कार्यसम्पादन समितिबाट कार्यकारिणी परिषद निर्माण गर्ने र कार्यकारिणी परिषदले जिल्लादेखि पालिकासम्म संयोजन समिति गठन गर्ने एकीकृत पार्टीको संयोजक राष्ट्रिय जनमुक्ति पार्टी (संघिय परिषद)का अध्यक्ष केपी पालुङ्वाले बताए ।

एकीकृत पार्टीको नाम, झण्डा, ब्यानरका बिषयमा कार्यदलले निर्धारण गर्ने सहमति भएको संघीय लिम्बुवान पार्टी नेपालका कोषाध्यक्ष एलबी पालुङ्वाले जानकारी दिए ।

एकीकृत पार्टीले बिचार, सिद्धान्त र मुद्दा मिल्ने दलहरुसँग एकताका लागि राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यबंशीको सयोजकत्वमा वार्ता समिति गठन गर्ने र एकताको सम्पूर्ण प्रक्रिया पूरा गरि आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने निर्णय भएको उनले बताए ।

नेपालको उपनिवेशिक, एकात्मक एकल जातीय राज्य संरचनाको अन्त्य गरी नेपालको ऐतिहासिक जातीय पहिचानको आधारमा स्वायत्त राज्य, स्वायत्त क्षेत्र, विषेश क्षेत्र, संरक्षित क्षेत्र एवं गैर– भौगोलिक स्वायत्तता एवम् स्वशासन सहितको संघीय लोकतान्त्रिक बहुल –राष्ट्र राज्य नेपाल स्थापना, राज्य हरेक अङ्गहरूमा जातीय जनसंख्याको आधारमा समानुपातिक, समावेशी र सहभागितमूलक प्रतिनिधित्व एवं पूर्ण समानुपातिक निर्वाचन प्रणालीको सिद्धान्त लागू गर्न, नेपाली समाजको आमु रूपान्तरण गर्न स्वदेश वाद, वहुल राष्ट्रवाद÷बहुजातीय सामुदायिक समाजवादको मार्ग निर्देशनक सिद्धान्त एवं विचार अंगीकार गर्दै नयाँ इन्द्रेणी समाज निर्माण, आन्दोलन र सङ्घर्षको माध्यमबाट नेपालको संविधान २०७२ पूर्नलेखन तथा संशोधन गर्न, बहुलराष्ट्रिय विद्रोह मार्फत नेपालको राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न, लिम्बुवानसँग भएको ५ बुँदे सहमति, संघीय गणतान्त्रिक राष्ट्रिय मोर्चा, आदिवासी जनजाति, मुस्लिम, पिछडावर्ग, थरुहट, मधेसी लगायतका आन्दोलनहरू र सरकारबीच विगतमा सम्पन्न भएका सहमति तथा सम्झौताहरू कार्वनयन गराउने राजनीतिक मुद्दाहरूमा साझा धारणा बनाएर पहिचानवादी पार्टीहरू आन्दोलनमा उत्रिने भएको आज बिर्तामोडमा आयोजित पार्टी एकताको लागि सहमति घोषणा कार्यक्रममा उपलब्ध गराइएको घोषणा पत्रमा उल्लेख छ ।

एकीकृत पार्टीको संयोजक राष्ट्रिय जनमुक्ति पार्टी (संघिय परिषद)का अध्यक्ष केपी पालुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वा, कोचिला सघर्ष केन्द्रिय समितिका संयोजक त्रिनारायण राजवंशी, संघीय खम्बुवान लोकतान्त्रिक पार्टी केन्द्रिय समितिका कार्यवहाक अध्यक्ष रघुनाथ खम्बु, लिम्बुवान राष्ट्रिय समिति लोसपा अध्यक्ष भक्त खेवाङ, किराँत लिम्बु्वान प्रदेश नामाङ्कन अभियान संयोजक प्रेमदिप थाम्सुहाङलगायतले पहिचानवादी ६ वटा पार्टीहरूबीच भएको एकीकरणले प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्नुपर्ने मागसहितको आन्दोलन सफल हुने बताए ।

संघीय लिम्बुवान पार्टी नेपालकी उपाध्यक्ष निश्चलता लावतीले स्वागत गरेको कार्यक्रममा पार्टी एकीकरण घोषणापत्र राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव बिष्णु खाम्देनले बाचन गरेका थिए ।

कार्यक्रमको सञ्चालन संघीय लिम्बुवान पार्टी नेपालका महासचिव लासिम पालुङ्वाले गरेका थिए । यसैबीच कोशी प्रदेशको नाम संसोधन र प्रदेश संरचनानै परिवर्तन गर्नुपर्ने मागसहित आइतबार फागुन २८ गते कोशी प्रदेश बन्दको आह्वान गरेको संघीय लिम्बुवान पार्टी नेपालका अध्यक्ष सञ्जुहाङ पालुङ्वाले बताए ।

आइतबार फागुन २८ गते कोशी प्रदेश बन्दको पूर्वसन्ध्यामा शनिबार बिर्तामोडमा कोशी प्रदेश खारेजीको माग गर्दै राके जुलुस प्रर्दशन गरिएको उनले जानकारी दिए ।