बिर्तामोड ।  मुलुकले सम्भवतः आज नयाँ उपराष्ट्रपति पाउँदैछ । आज हुने उपराष्ट्रपति पदको निर्वाचनबाट  मुलुकले सम्भवतः नयाँ उपराष्ट्रपति पाउने भएको हो  ।  मुलुकमा उपराष्ट्रपतिको यो तेस्रो निर्वाचन हुन लागेको हो । नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपति पदको उम्मेदवार छन् ।

 आज बिहान १० देखि अपराह्न ३ बजेसम्म नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानमा  सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाताको रुपमा भाग लिँदैछन् । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।