बिर्तामोड । झापाको मेचीनगर १३ स्थित चारआलीमा रहेको पाउ पाथीभरा मन्दिरमा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी गरिएको छ ।
आगामी चैत्र ८ गते बाट १६ गतेसम्म श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको तयारी गरिएको पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्धार पर्यटन प्रर्वद्धन समितिका अध्यक्ष तिलक प्रसाद गिरीले जानकारी दिए ।
२०७१ सालमा पाउ पाथीभरा मन्दिरको स्थापना गरिएको र हरीचरण वाँनियाको अध्यक्षतामा गठन गरिएको समितिको प्रतिवद्धता अनुसार प्रत्येक बर्ष चैत अर्थात रामनवमीका अवसरमा १८ औं पुराणको आयोजना गर्ने उदेश्यले छैटौं अनुष्ठानको रुपमा यस वर्ष श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको उनले बताए ।
समाजमा धार्मिक सहिष्णुता कायम गर्दै समाजको मानवउद्धार र शान्तिका लागि धार्मिक धामको सुदृढ व्यवस्थापन होस् भन्ने उद्देश्यले श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना गरिएको उनले बताए।
धार्मिक पर्यटनलाई प्रर्वद्धन गर्ने र पाथिभरा देबीको महिमाको प्रचारप्रसार गरी त्यसको आधारमा पाथिभरा धामलाई प्रमुख धार्मिक गन्तब्य बनाएर उक्त क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचार गर्ने योजना रहेको अध्यक्ष गिरीले जानकारी दिए ।
महायज्ञमा आचार्य पं शान्तिराम नेपालको प्रमुख बाचकत्व तथा आचार्य पं पुण्यप्रसाद रिजालबाट पाठ पारायण हुने समितिका वरिष्ठ उपाध्यक्ष तथा प्रचार प्रसार उपसमितिका संयोजक यामनाथ बरालले बताए ।
चैत ८ गते शोभा कलश यात्रा, मण्डव पुजन, पाठ परायण कथा प्रारम्भ साथै विविध झाँकीसहित उदघाटनको कार्यक्रम हुने र चैत ९ गतेदेखि १६ गतेसम्म कथा प्रवचन गरिने उनले बताए ।
महायज्ञको उद्घाटन सभामुख देबराज घिमिरेले गर्ने र उद्घाटन कार्यक्रममा सांसद विश्वप्रकाश शर्मालगायतका विशिष्ट व्यक्तिहरुको सहभागिता रहने उनले बताए।
महायज्ञमा दानका लागि कसैलाई आग्रह नगरिने स्वेच्छिक दान मात्र संकलन गरिने उनले जनाए । महायज्ञ सम्पन्न गर्न बिभिन्न १४ वटा उप–समितिहरु निर्माण गरिएको प्रचारप्रसार समितिका सदस्य खगेन्द्र घिमिरेले बताए ।
कार्यक्रममा सल्लाहकार लोकराज ढकाल, जगन भट्टराई, अग्निदेव लुईटेल सचिव नवराज भट्टराई, साहित्यकार देवीभक्त श्रेष्ठलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सल्लाहकार तथा प्रचार–प्रसार समितिका सदस्य प्रेमराज घिमिरेले गरेका थिए ।




















