बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी उद्योगी व्यवसायीले  बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरका कारण आफूहरु मारमा परेको बताएका छन् । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको पाँचौँ प्रदेशसभामा उनीहरुले यस्तो बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा सार्क चेम्बर अफ कमर्सका उपाध्यक्ष चण्डीराज ढकालले बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदरका कारण उद्यागी व्यवसायीहरु मारमा परेको बताए ।

देशको आर्थिक विकासको महत्वपूर्ण इन्जिन निजी क्षेत्र वर्तमान अवस्थामा विविध कारण अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको बताउँदै  उनले समास्य सुल्झाउन सरकारलाई पटक पटक आग्रह गरिएको बताए ।

देशको अर्थतन्त्र निकै कमजोर भएको तथा महँगी ह्वात्तै बढेका कारण व्यापार व्यवसाय चौपट भएको अवस्थामा बैंकको ब्याजदर उच्च बिन्दुमा पुगेका कारण बैंकको किस्ता तिर्न नसकेर व्यवसायीलाई यतिखेर बाँच्नै मुस्किल भएको उनले बताए ।

महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्ष रामचन्द्र संघाई, पूर्ववरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकार, पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, बाग्मती प्रदेश अध्यक्ष दिलसुन्दर श्रेष्ठ लगायतले  चर्को ब्याजदरका कारण व्यापार व्यवसाय नै धराशायी बनेकाले बढ्दो ब्याजदरको विरोध गर्दै बैंकले अस्वाभाविक रूपमा वृद्धि गरेको ब्याजदर घटाउन सरकारसँग माग गरे। 

त्यस्तै,महासंघका केन्द्रीय सदस्यहरु उमेश डालमिया, हेमराज ढकाल, अरुण सुमार्गी, नरेन्द्रकुमार खड्का, नेपाल अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले चर्को ब्याजदर घटाउनुपर्ने, ऋणको ब्याजदर एक अकंमा राख्नुपर्ने, ऋण लिँदाको वेला भएको सम्झौताअनुरूप ब्याजदर कायम हुनुपर्नेदेखि अव्यावहारिक नीति खारेजी हुनुपर्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष टिकाराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा भीमबहादुर पौडेलले धन्यवाद ज्ञापन र सदस्य कुमार भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।