बिर्तामोड । नेपाल डोरीतान संघको झापा जिल्ला तदर्थ समितिको अध्यक्षमा युनिता दवाडी चयन भएकी छिन् ।

झापाको बिर्तामोडमा डोरीतानमा आवद्ध खेलाडीहरुको भेलाले दवाडीको अध्यक्षतामा नेपाल डोरीतान संघ झापा जिल्ला तदर्थ समिति गठन गरिएको हो ।

नवगठित समितिको उपाध्यक्षमा प्रज्ज्वल अधिकारी, सचिवमा मनिष मुर्मु, कोषाध्यक्षमा मेनुका उप्रेती रहेका छन् । त्यस्तै सदस्यहरुमा यादव मिश्र, होमप्रसाद न्यौपाने, पुष्प न्यौपाने, संगीता चिमरिया र केशव खनाल रहेका छन् ।

नेपाल डोरीतान संघकी कोशी प्रदेश अध्यक्ष रीता न्यौपानेको अध्यक्षता तथा झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल डोरीतान संघकी कोशी प्रदेश उपाध्यक्ष हिमा मिश्र पौड्यालले स्वागत गरेकी थिइन् । 

कार्यक्रममा नेपाल वक्सिङ संघका केन्द्रीय उपाध्यक्ष भोजराज सिटौला, नेपाल जेसीजकी उपाध्यक्ष स्वस्तिका आचार्य सिटौला, लायन्स क्लव अफ बिर्तामोड लेडीकी अध्यक्ष उर्मिला विमली खरेलले नवगठित समितिलाई वधाई तथा शुभकामना दिएका थिए भने नवनिर्वाचित अध्यक्ष युनिता दवाडीले प्रतिवद्धता मन्तव्य राखेकी थिइन् ।

डोरीतान खेलसमेत प्रस्तुत गरिएको कार्यक्रमको सञ्चालन मोरङ डोरीतान संघकी सचिव शितल रायले गरेकी थिइन् ।