बिर्तामोड । राजवंशी समाज विकास समिति बिर्तामोड –५ को आयोजना तथा बिर्तामोड –५ वडा कार्यालयको आर्थिक सहयोगमा बिर्तामोडमा अर्गानिक घरको मुरै बनाउने तालिम शुरु भएको छ ।
राजवंशी समुदायको जातीय परम्परागत खाना मुरै (भुजा) पहिला– पहिला घरमै बनाएर खाने चलन भएपनि मेसिनबाट उत्पादन हुने मुरै (भुजा)बजारमा पाउन थालेपछि राजवंशी समुदायका महिलाले मुरै (भुजा) बनाउन छोडेको र मेसिनले भन्दा घरमै उत्पादन हुने मुरै (भुजा) अर्गानिक तथा स्वादिष्ट हुने भएपछि अहिले राजवंशी समुदायका महिलाले मुरै (भुजा) बनाउन जागरुक भएपछि अर्गानिक घरको मुरै बनाउने तालिम दिन शुरु गरेको राजवंशी समाज विकास समिति बिर्तामोड –५ की अध्यक्ष रुपवति (रुपा) राजवंशीले बताइन् ।
राजवंशी समुदायको जातीय परम्परागत खानाको संरक्षण तथा राजवंशी समुदायका महिलालाई व्यवसायिक बनाउने उद्देश्यले ५ दिने मुरै (भुजा) बनाउने तालिम आयोजना गरेको उनले बताइन् । तालिममा बिर्तामोड –५ का सबै गृहणी एवं बेरोजगार महिलाको सहभागीता रहेको उनले बताइन् ।
राजवंशी समाज विकास समिति बिर्तामोड –५ की अध्यक्ष रुपवति (रुपा) राजवंशीको अध्यक्षता तथा बिर्तामोड –५ का वडाध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा पत्रकार इन्द्रसिंह राजवंशीले स्वागत गरेका थिए ।
कार्यक्रममा राजवंशी महिला समाज केन्द्रिय समितीकी अध्यक्ष सनम राजवंशी, आदीवासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी, राजवंशी समाज विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी , राजवंशी नगर विकास समितिका अध्यक्ष जीतलाल राजवंशी, जात्रुबारी न्युटन्स् टोलका अध्यक्ष लवकुमार चौधरी, जात्रुवारी संगीत टोलका अध्यक्ष घनश्याम गिरीलगायतले राजवंशी जातिको लागि नभई नहुने खाना मुरै (भुजा) भएकाले यसको संरक्षण संगसंगै राजवंशी महिलालाई मुरै (भुजा) बेचेर व्यवसायिक बनाउनका लागि तालिम उपयोगी हुने बताए ।
मेसिनले बनाएको मुरै (भुजा)भन्दा घरमा बनाएको मुरै (भुजा) सफा, अर्गानिक र स्वादिलो हुने भएकाले तालिम लिएर यसको उत्पादन गरी बिक्री गरी आर्थिक उपार्जन गर्न उनीहरुले सुझाव दिए ।
कार्यक्रमको सञ्चालन संस्थाकी अञ्जु तिम्सिना राजवंशीले गरेकी थिइन् ।
‘




















