बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–५ मा रहेको देविहाट बुधबारे बजारमा ब्यवसायिक प्रयोजनका लागी बनाइएका घर, टहरालगायतका संरचनाहरु बिर्तामोड नगरपालिकाले डोजर प्रयोग गरी हटाएको छ ।

बिर्तामोड नगरपालिकाको स्वामित्वमा रहेको देविहाट बुधबारे बजारमा बिगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीहरुलाई  उक्त ठाँउमा बहुतले व्यवसायिक भवन निर्माण गरिने भन्दै  विगत दुई महिनादेखि बिर्तामोड नगरपालिकाले ३५, १५, १० र ३ दिने सूचना जारी गरेर व्यवसायीहरूलाई घर, टहरालगायतका संरचनाहरु हटाउन  निर्देशन दिएपनि  ब्यवसायीहरुले आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई आग्रह गरी अटेर गरेर  घर, टहरा,संरचनाहरु हटाउन नमानेपछि बिर्तामोड नगरपालिकाले वाध्य भएर १० वटा डोजर प्रयोग गरी घर, टहरा,संरचनाहरु हटाएको हो । 

 घर, टहरालगायतका संरचनाहरु हटाउन बिर्तामोड नगरपालिकाले शनिवार अन्तिम पटक माइकिङ गर्दै २४ घण्टे सूचना जारी गरेको थियो । तर, व्यवसायीले अटेर गरेर घर, टहरालगायतका संरचनाहरु हटाउन  ठाउँ खाली नगरेपछि सोमवार मध्यान्य १२ वजेपछि डोजर लगाएर घर, टहरालगायतका संरचनाहरु भत्काएको बिर्तामोड नगरपालिकाले जनाएको छ ।

 बिर्तामोड नगरपालिकाले २०७७ सालदेखि देविहाट बुधबारे बजारमा बहुतले व्यवसायिक भवन निर्माण गर्न त्यस ठाउँमा व्यवसाय सञ्चालन गरिरहेका घर टहरा हटाउन  आग्रह गर्दै आएपनि त्यहाँका  व्यापारीहरुले बिर्तामोड नगरपालिकाको आग्रहलाई उल्लंघन गर्दै ठाउँ खाली गर्न मानिरहेका थिएनन् ।

 विर्तामोड नगरपालिकाले देविहाट बुधबारे बजारमा ब्यवसायिक प्रयोजनका लागी बनाइएका घर, टहरालगायतका संरचनाहरु  हटाउन  डोजर चलाउँदा सामान्य अवरोध प्रयास भएको थियो । डोजर पसल भत्काउन अघि बढेपछि विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी, वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतका व्यवसायी अगुवाहरु डोजरमा चढेर चालकलाई गाडी अघि नबढाउन दवाव सिर्जना गरेका थिए । सुरुमा स्थानीय पसल सञ्चालकहरु पनि डोजर रोक्ने प्रयासमा लागेका थिए । डोजर नरोकिएपछि व्यवसायीहरु आफ्ना सामान पोको पारेर सिटी रिक्सामा हाली सुरक्षित स्थानमा सार्न बाध्य भएका थिए । केही व्यवसायीले एउटा डोजरमा ढुंगा हानी सिसा फुटाएका थिए । उनीहरुले आफूहरुको वैकल्पिक व्यवस्थापन गरेर मात्रै बहुतले व्यवसायिक भवन निर्माण गर्न बिर्तामोड नगरपालिकालाई  आग्रह समेत गरेका थिए ।

 दाता रामवावु प्रसाईंले एक विगाह तीन कठ्ठा जग्गा प्रदान गरेर देविहाट बुधबारे बजार स्थापना गरेको र बिर्तामोड नगरपालिकाले स्वामित्व लिएको देविहाट बुधबारे बजारमा  नगर विकास कोषको लगानीमा बहुतले व्यवसायिक भवन बनाउने निर्णय भइसकेकाले डोजर चलाएर भएपनि ब्यवसायिक प्रयोजनका लागी बनाइएका घर, टहरालगायतका संरचनाहरु हटाइएको बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

बिर्तामोडका १० वटै वडाका ५४ जना जनप्रतिनिधिहरुले  विशेष बैठक बसेर एकमतका साथ देविहाट बुधबारे बजारमा ब्यवसायिक प्रयोजनका लागी बनाइएका घर, टहरालगायतका संरचनाहरु खाली गराउने निर्णय गरेको र व्यवसायीलाई नगरपालिकाले पटक–पटक सूचना जारी गर्दै ठाउँ खाली गर्न आव्हान गर्दा नमानेपछि कानुन बमोजिम डोजर लगाएर ठाउँ खाली गराइएको उनले बताए ।

राजनीतिक दलहरुको सहमतिकै कारण बिर्तामोड नगरपालिकाले कार्यपालिकाबाट निर्णय गर्दै  देविहाट बुधबारे बजारमा बहुतले व्यवसायिक भवन  निर्माण गर्न लागेको र  भवन निर्माणमा ९० प्रतिशत लगानी नगर विकास कोषले गर्ने प्रतिवद्धा समेत जनाएको उनले बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद न्यौपानेले  डोजर चलाउने क्रममा कुनै पनि अप्रिय घटना नभएको बताए । उनले डोजर चल्न थालेपछि व्यापारीहरु आफैंले सामान हटाएर सहयोग गरेको बताए।

यता देविहाट बुधबारे बजारमा बिगत लामो समयदेखि व्यापार व्यवसाय सञ्चालन गर्दै आइरहेका व्यवसायीहरुले बिर्तामोड नगरपालिकाले डोजर चलाएर आफूहरुको रोजीरोटी नै खोसीदिएको बताएका छन् । 

 देविहाट बुधबारे बजारका व्यवसायी अलि आलमले हाल देशको विषम आर्थिक अवस्था र सम्पूर्ण व्यवसायहरु धरायासी भईरहेको अवस्थामा  बिर्तामोड नगरपालिकाले डोजर चलाएर व्यवसायिहरुको रोजीरोटी खोसीदिएको बताए ।

यता  युनिकम नेपालका केन्द्रीय अध्यक्ष गजेन्द्रवहादुर पौडेलले विज्ञप्ति जारी गर्दै व्यवसायी, श्रमिक र मजदुरहरुको रोजिरोटी खोसिएको भन्दै त्यसको क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।

संघीय सरकारको स्वरोजगार प्रर्वद्धन गर्ने नीतिका विरुद्ध बिर्तामोड नगरपालिकाले सयौलाई बेरोजगार बनाएको उनले बताए ।

त्यस्तै  बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले देविहाट बुधबारे बजारमा ब्यवसाय सञ्चालन गर्दै गरेका ब्यवसायीहरुलाई वैकल्पिक व्यवस्थापन नगरी डोजर चलाएर बिर्तामोड नगरपालिकाले ब्यवसायीहरुलाई उठीवास लगाएको घटनाको निन्दा गरेका छन् । उनले  जवरजस्ती विस्थापित गरिएका व्यवसायीहरुलाई उचित व्यवस्थापन गरी व्यवसाय गर्ने बातावरण तयार गर्न  बिर्तामोड नगरपालिकासंग माग गरेका छन् ।

  विर्तामोड–५ स्थित बुधवारे हटियामा १९४ वटा पसल रहेको बताइएको छ ।