बिर्तामोड । झापाको बिर्तामोडमा  ‘खरानीको धागो’ नाटक मञ्चनको तयारी गरिएको छ ।

आर्ट स्टुडियोको प्रस्तुती र गार्डेन थिएटर काठमाडौँ, कदम थिएटर दमक, परिवर्तन थिएटर कॉकडभिट्टा झापा र चुलाचुली रंगमञ्च चुलाचुली इलामको सहकार्यमा आगामी जेठ २३ देखि ३० गतेसम्म बिर्तामोड रामचौकस्थित हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसमा ‘खरानीको धागो’ नाटक मञ्चनको तयारी गरिएको हो ।

चे शंकरको लेखन तथा निर्देशनमा  झापामा अलग–अलग समय र आर्थिक, सामाजिक, राजनीतिक र साँस्कृतिक बदलावले खाली हुँदै गरेको पूर्वी पहाडको सानो गाउँको जनजीवनको कथालाई समेटिएर तयार पारिएको नाटक  ‘खरानीको धागो’ मा शान्तादेवी पौड्याल, गोमादेवी बिमली, अम्बिका श्रेष्ठ, पुनम पराजुली, गीता केसी उप्रेती, सुशिला दाहाल, निर्भिक भट्टराई, मनकुमार योङहाङ, सिद्धिका दाहाल, दीपक खरेल, माधवप्रसाद पौड्याल, रुद्र ओली, कृष्णमाया बुढाथोकीलगायतका कलाकारहरुको अभिनय रहेको छ ।

एक घण्टा ५ मिनेटको रहेको नाटकमा लोप हुँदै गरेको लोक विचरण, संगीत र संस्कृतिलाई समेट्दै बालन, संगिनी, फेरी जगाउने रीति र झ्याउरे संगीत प्रयोग गरिएको आर्ट स्टुडियोकी अध्यक्ष शान्तादेबी पौडेलले बताइन् ।

पुरानो भेषभूषा, कला र संस्कृतिको बारेमा उजागर, पौराणिक बस्तु, जीवन शैलीको बारेमा नयाँ पुस्तालाई जानकारी दिने जनचेतनामूलक नाटक मञ्चन गर्न लागीएको उनले बताइन् ।

आर्ट स्टुडियो मार्फत सुसेली कला समूह रसिंहवाहिनी महिला नौमती बाजाको संरक्षण तथा सम्वद्र्धन गर्दै आएको बताउँदै उनले आर्ट स्टुडियो मार्फत  तीन वर्ष अगाडि नाटक ’रुवा’ को सफल मञ्चन गरेको जनाइन् ।

बालबालिकामा कल्पनाशीलता र रचनात्मक शिल्पको विकास गर्ने, नाटकमा प्रयोग हुने सेट, भेषभुषा, लाइट, पुरानो भेषभुषा, कला र संस्कृति सबैको मानसपटलमा पुनर्ताजकी गर्ने, बालबालिका र नयाँ पुस्तालाई लोकभाका, संगीत र जीवनशैली बारे जानकारी दिने, कला र संस्कृतिको संरक्षण गर्ने, कला, संस्कृति र पौराणिक कुराहरु संरक्षण गर्नु पर्छ भन्ने चेतना फैलाउने, स्कुलका विद्यार्थी, शिक्षक र अभिभावकलाई नाटक र यसको महत्वबारे जानकारी दिने र दर्शकमा विदेश भन्दा पनि नेपालीपन र नेपालमै केही गर्नु पर्छ भन्ने भावना जागृत गर्ने  नाटकका लेखक तथा निर्देशक चे शंकरले बताए ।

 नाटक ८ वर्ष माथिका बालबालिका, कलेजका विद्यार्थी, अभिभावक, संस्कृति संरक्षक अभियन्ता, लेखक कलाकारहरू सुरक्षाकर्मी प्रति लक्षित रहेको बताउँदै उनले नाटकमा विभिन्न लोकबाजा, विजुली बत्तीको कलात्मक संयोजन गरिएकोले ८ वर्ष भन्दा मुनीका बालबालिका डराउन सक्ने भएकाले सो उमेर मुनीका बालबालिकाहरूलाई प्रवेश नगराइने जानकारी दिए ।

कार्यक्रममा साहित्य चौतारी झापाका संस्थापक तथा संरक्षक देबीभक्त श्रेष्ठ, हिमाल सागर रिसोर्ट एण्ड पार्टी प्यालेसका सञ्चालक देबीप्रसाद संगौलालगायतले   वर्तमान अवस्थामा गाउँबाट शहरतीर नागरिकको पलायन र विदेशिएका नागरिकलाई नेपाल कसरी फर्काउन सकिन्छ भन्ने बारे प्रेरणादायी सन्देश बोकेको नाटक भएकाले एक पटक सबैलाई नाटक हेरिदिन आग्रह गरे ।

कार्यक्रमको  सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।