बिर्तामोड । चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाको आयोजनामा  तीन दिने चलचित्र पत्रकारिता कार्यशालाको तयारी गरिएको  छ।

 धरान उपमहानगरपालिका र  चलचित्र विकास बोर्डको सहयोगमा जेठ २१ गतेदेखि २३ गतेसम्म तीन दिने चलचित्र पत्रकारिता कार्यशालाको आयोजना गर्ने चलचित्र पत्रकार संघ सुनसरीका अध्यक्ष विनोद विश्वकर्माले बताए ।

 चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले जेठ २१,२२ र २३ गते गरिने चलचित्र पत्रकारिता कार्यशालालाई भने भव्य बनाउने तयारी गरेको बताउँदै  उनले कार्यशालाको अन्तिम दिन सुनसरीमा रहेर लामो समय रङ्ग पत्रकारिता गरेका एक जना, तथा पछिल्लो पुस्तमा उत्कृष्ट रङ्ग पत्रकारिता गर्दै गरेका एक जना गरी २ जना रङ्ग पत्रकारहरुलाई र लामो समय कलाकारिताको क्षेत्रमा योगदान गर्ने एक जना कलाकारलाई समेत नगद सहित सम्मान गरिने जानकारी दिए ।

 तीन दिने चलचित्र पत्रकारिता  कार्यशालामा मनोरञ्जन विधालाई केन्द्रित गर्दै आधुनिक प्रविधिको प्रयोगबाट पत्रकारिता गर्न सिकाइने चलचित्र पत्रकार संघ सुनसरी शाखाका उपाध्यक्ष मनोज दाहालले जानकारी दिए ।

स्टार होटल धरान –१४ विजयपूरचौकमा हुने कार्यशालाको सहजीकरण नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवम्  चलचित्र निर्देशक भीषण राई , चलचित्र पत्रकार ÷निर्देशक लक्ष्मण सुवेदी, चलचित्र पत्रकार विजय आवाज, प्रोफेसर रोनिश राउतले गर्ने उनले बताए ।

कार्यशालाको उद्घाटन प्रमुख अतिथि चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीले गर्ने उनले जानकारी दिए ।