बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका वक्ताले तालिममा सिकेको सिप व्यवहारमा उतारेर आत्मनिर्भर बन्न महिलालाई आग्रह गरेका छन् । महिला उद्यमी संघ नेपाल झापाको आयोजना तथा बिर्तामोड नगरपालिका कृषि शाखाको सहयोगमा बिर्तामोडमा भएको दुई दिने कौसी खेती तालिम समापनमा उनीहरुले यस्तो आग्रह गरेका हुन् । 

संस्थाकी अध्यक्ष सुस्मा भण्डारी पौडेलको अध्यक्षता तथा बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड –५ का वडासदस्य  दुर्गा  शिवाकोटी , महिला उद्यमी संघ नेपाल झापाकी संस्थापक अध्यक्ष गोमा भट्टराई, सञ्चारिका समूह नेपाल झापाकी अध्यक्ष लिला अनमोललगायतले शुभकामना दिएका थिए ।

बिर्तामोड –५ का २२ जना महिलाको सहभागिता रहेको कौसी खेती तालिमको सहजीकरण प्रशिक्षक विमल तामाङले गरेका थिए ।  उनले सहभागीलाई कौसी खेती गर्ने तरिका, कौसी खेतीको महत्व ,माटो, पानी र मलको मात्रा ,बीउ र विरुवाको जात र रोप्दा ध्यान दिनुपर्ने विषयमा तालिम दिएको बिर्तामोड नगरपालिका कृषि शाखाकी अनु मोतेले बताइन् । तालिममा सहभागी महिलाले कौसी खेती तालिम लिएपछि आफूहरुले कौसी खेती गर्ने प्रतिवद्धता जनाएका थिए ।