बिर्तामोड । शुक्रबार बिर्तामोड–५ को विमली निवासमा तीजको छुट्टै रौनक थियो । वालवालिकादेखि बृद्धबृद्धासम्म तीजमा रमाइरहेका थिए । त्यहाँ न त गरगहनाको प्रदर्शन नै थियो न त तडकभडक नै । सबै महिला रातो सारीमा सजिएका थिए भने उनीहरुले नाच्ने तीजको गीत पनि उत्ताउलो थिएन । आफ्नै घरमा पकाएको दरले सबैलाई रुचाएको थियो ।  अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका शारीरिक रुपमा अपाङ्गता भएका वालवालिकाहरुलाई घरमै बोलाएर नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमली , चेम्वर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले स्वागत गर्दै दर खुवाइरहेका थिए ।  अपाङ्गता भएका वालवालिकाहरु दर खान पाउँदा खुशीले प्रफुल्ल देखिन्थे ।अपाङ्ग वाल शिक्षा सरोकार केन्द्रमा रहेका शारीरिक रुपमा अपाङ्गता भएका वालवालिकाहरुलाई आर्थिक सहयोग गरिएको थियो ।

चेम्वर अफ कमर्श झापाको आर्थिक सहयोगमा  नेपाल उद्यमशील महिला संघ झापा,  महिला चेम्वर अफ कमर्श झापा, पूर्वेली महिला समूह बिर्तामोड –५, कोहेड टोल विकास संस्था बिर्तामोड –५को संयुक्त आयोजनामा भएको तीज मिलनको दृश्य हो यो । नेपाल उद्यमशील महिला संघ झापाकी अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा झापा गाउँपालिकाकी निमित्त अध्यक्ष अञ्जुदेवी थपलियाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मुटुको शल्यक्रिया गरी घरमा स्वास्थ्यलाभ गरिरहेका बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालाई आर्थिक सहयोग गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति झापाकी उपप्रमुख शान्ता रोक्काले तीजलाई परोपकारी कार्य गरेर मनाएकोमा आयोजकलाई धन्यवाद दिइन् । कार्यक्रमको सञ्चालन  नेपाल उद्यमशील महिला संघ झापाकी सचिव यसोदा प्रसाईले गरेकी थिइन् । झापाका महिलावादी विभिन्न संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरुलाई निमन्त्रणा गरेर तडकभडकरहित तीज मनाएको देखेर त्यहाँका सहभागी भन्दै थिए –तीज हुनु त यस्तो पो !