बिर्तामोड । साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ काठमाडौंमा सम्मानित भएका छन् । प्रेमध्वज प्रधान फाउन्डेसनले सांस्कृतिक संस्थान, जमल, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा श्रेष्ठलाई प्रेमध्वज प्रधान सम्मान प्रदान गरेको हो । भाषा, कला साहित्य र संगीतको क्षेत्रमा उल्लेख्य योगदान पुर्याए वापत उनलाई प्रेमध्वज प्रधान सम्मान प्रदान गरिएको साहित्यिक पत्रकार संघका अध्यक्ष एवं कार्यक्रम संयोजक राधेश्याम लेकालीले बताए ।

प्रेमध्वज प्रधान फाउन्डेसनका अध्यक्ष शान्तबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा  प्रमुख अतिथि वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले साहित्यकार श्रेष्ठलाई सम्मान पत्र प्रदान गरेका थिए । । साहित्य चौतारी झापाका संस्थापक संरक्षक श्रेष्ठले आफ्ना पितृको सम्झनामा साहित्य चौतारी झापा स्थापना गरेर भाषा, कला साहित्य र संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका छन् । साहित्य चौतारी झापाले हजारौं साहित्यक श्रष्टा उत्पादन गरेको छ  भने नवआगन्तुक प्रतिभाको प्रतिभा प्रस्फुटन गर्ने  थलो पनि साहित्य चौतारी झापा भएको छ । गीत तथा भजन लेखन तथा गायनमा पनि श्रेष्ठ उत्तिकै अव्वल छन् । उनका एक दर्जन भन्दा वढी  भजन अहिले विभिन्न सञ्चारमाध्यममा प्रसारित भइरहेका छन् ।

साढे तीनदशक अघिदेखि हिकोला कलर ल्याव स्थापना गरी फोटोग्राफीमार्फत पर्यटकीय क्षेत्रको प्रचार अभियान सुरु गरेका श्रेष्ठले फोटोग्राफी बाहेक अनुपमा ट्राभल्समार्फत पनि  निरन्तर पर्यटन क्षेत्रमा योगदान गर्दै आएका छन् । बिर्तामोडमा होटल हिकोला हेरिटेज र काँकडभिट्टामा होटल हिकोला हेरिटेज सञ्चालनमा ल्याएर उनी लामो समयदेखि  पर्यटन प्रवर्धन अभियानमा सहभागी छन् भने धार्मिक पर्यटनमार्फत पनि उनले आफूलाई स्थापित गरेका छन् ।  बरिष्ठ गायक प्रेमध्वज प्रधानको सम्मान पाएर  भाषा, कला साहित्य र संगीतको क्षेत्रमा अझ क्रियाशिल हुन आफूलाई प्रेरणा मिलेको श्रेष्ठले बताए ।

कार्यक्रममा देवीभक्त श्रेष्ठसहित वरिष्ठ गीतकार प्राज्ञ उन्नती बोहरा (शीला) वरिष्ठ संगीतकार प्राज्ञ प्रदीप बमजन, वरिष्ठ गायक आनन्द कार्की, वरिष्ठ कलाकार रमेशनाथ खनाल, नायकहरु कृष्ण मल्ल र रविन्द्र खड्का, नायिका एवं आध्यात्मिक अभियन्ता शोभिता सिंखडा, विश्व कीर्तिमानी सर्जक डा. डी.आर. उपाध्याय, कवि एवं  समाजसेवी विसन थापा, पत्रकार एवं सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोक प्यासी राई, साहित्यकारहरु जलेश्वरी श्रेष्ठ, गोविन्द गिरी प्रेरणा,  फूलमान बल, युवराज अधिकारी, लाक्पा फुटी शेर्पा र अनुराधा सम्मान प्रदान गरिएको थियो ।  

यसैगरी बुद्द शान्त पार्क निर्माणमा सहयोगी हातहरु समाजसेवी शंकरराज पाण्डे, विनन्द बैद्य, सुन्दर श्रेष्ठ, सुर्जुदेवी बज्राचार्य, रुकशाना महर्जन, गणेशमाया महर्जन, राम श्रेष्ठ, मंगलदास श्रेष्ठ, कल्याण दवाडी रजनी मल्लीलाई पनि कदर पत्र प्रदान गरिएको थियो ।  वरिष्ठ गायक प्रेमध्वज प्रधान र वरिष्ठ गायिका दिलमाया खातीप्रति श्रद्धाञ्जली व्यक्त गरिएको कार्यक्रममा  देवीभक्त श्रेष्ठले मन्तव्यसहित दिवंगत श्रष्टा प्रेमध्वज प्रधान, दिलमाया खाती, आदिकवी भानुभक्तलगायतका गीत  गाएर मन्त्रमुग्ध पारेका थिए भने साहित्य चौतारीको तर्फबाट दशैं, तिहार , नेपाल सम्वत्, छठ पर्वको शुभकामना दिएका थिए । उनले प्रमुख अतिथि तथा अतिथिहरुलाई साहित्य चौतारी रजत वर्षको व्याच प्रदान गर्नुका साथै  साहित्य चौतारीको दुई वटै  स्मारिका प्रदान गरेका थिए । 

 कार्यक्रममा प्राज्ञ उन्नती बोहरा (शीला) प्राज्ञ प्रदीप बमजन, रमेशनाथ खनाल, कृष्ण मल्ल, शोभिता सिंखडा, अशोक प्यासी राईले मन्तव्य राखेका थिए । कार्यक्रमको दोस्रो सत्रमा विविध सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रमको संचालन कवि मुरारि सिग्देलले र सांस्कृतिक कार्यक्रमको संचालन प्रस्तोता कुसुम बज्राचार्यले गरेका थिए ।