बिर्तामोड । झापाको बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा ‘हाम्रो बजार’ सञ्चालनमा आएको छ । बिर्तामोडको देवीहाट बुधबारे हटियाका विस्थापित व्यवसायीहरूले  ‘हाम्रो बजार’ निर्माण गरी सञ्चालनमा ल्याएका छन् ।

बिर्तामोड नगरपालिकाले बहुतले व्यावसायिक भवन निर्माण गर्ने भन्दै गत जेठ ८ मा डोजर लगाएर देवीहाट बुधबारे हटियाको जमिन खाली गराएको थियो । त्यसबाट विस्थापित भएका व्यवसायीहरूले तीन जना जग्गाधनीको तीन कठ्ठा जमिन भाडामा लिएर  ‘हाम्रो बजार’  निर्माण गरी व्यवसाय सुरु गरेका हुन् । पाँच वर्षका लागि जमिन भाडामा लिएर   ‘हाम्रो बजार’ निर्माण गरी सञ्चालनमा ल्याइएको  ‘हाम्रो बजार’  व्यवस्थापन समितिकी अध्यक्ष भावना पोखरेलले जानकारी दिइन् । 

‘हाम्रो बजार’ मा ४६ वटा सटर निर्माण गरिएको र ती सटरमा लत्ताकपडा, जुत्ता, टेलरिङ, कस्मेटिक, होटल , तरकारी, फलफूललगायतका सामग्री उपलब्ध रहेको र खानेपानी, बिजुली , शौचालय, सुरक्षा गार्ड, सरसफाइलगायतको सुविधासमेत रहेको उनले बताइन् । 

युवा व्यवसायी तथा  ‘हाम्रो बजार’ व्यवस्थापनका सहजकर्ता सजेश शिवाकोटीले ४६ जना व्यवसायीहरुबाट एक–एक लाख रुपैँया धरौटी लिएर  ‘हाम्रो बजार’ निर्माण गरेको र प्रति सटर दुई हजार रुपैँया मासिक भाडा लिने गरी पहिलो चरणमा पाँच बर्षका लागि करार गरिएको बताए ।

 यसैबीच बुधबारे हटियाबाट विस्थापित भएका व्यवसायीहरुका लागि खोलिएको ‘हाम्रो बजार’ को  उद्घाटन गरिएको छ । 

हाम्रो बजारका जग्गादाताहरु शान्ता शिवाकोटी, पवित्रा खड्का, सरिता खत्री र बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले सामूहिक रुपमा  ‘हाम्रो बजार’ उद्घाटन गरेका हुन् । 

‘हाम्रो बजार’ को  उद्घाटन गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बिर्तामोड नगरपालिकाले व्यवसायीहरुको पेटमा लात हानेर बजार खाली गराएको र कुनै विकल्प नदिएकाले आफुहरुले हाम्रो बजार शुरु गर्नका लागि पहल गरेको बताए ।

बिर्तामोड नगरपालिकाले तत्काल भवन शुरु गर्ने भनेपनि हालसम्म केहि काम अगाडी नबढेको र व्यवसायी भोकै बस्नु पर्ने अवस्था आएकाले यस विषयमा गम्भीर बन्न नगरपालिकालाई आग्रह गरे ।

यता व्यवसायी उमेश अग्रवालले  ‘हाम्रो बजार’ मा व्यवसाय शुरु गर्न पाउँदा अत्यन्त खुशी लागेको बताए । देवीहाट बुधबारे हटियामा व्यवसाय गरीरहेका उनले बिर्तामोड नगरपालिकाले डोजर लगाएर आफूहरुलाई विस्थापित गराउँदा दुःख लागेको बताउँदै बिर्तामोडस्थित पश्चिम बस स्टेण्ड दक्षिणमा सञ्चालनमा आएको  ‘हाम्रो बजार’ मा पु ःन बजार शुरु गर्न पाउँदा खुशी लागेको बताए ।

युवा व्यवसायीहरु प्रविन खड्का, दिपक मित्तल, घनश्याम चौधरी, राधिका चुडाललगायतले  ‘हाम्रो बजार’ सञ्चालनमा ल्याएर देवीहाट बुधबारे हटियाका विस्थापित व्यवसायीहरूलाई राहत दिएकोमा खुशी व्यक्त गरे ।