बिर्तामोड । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमका सहभागी वक्ताले  नेपाल संवत्लाई राष्ट्रिय संवत्को रुपमा मान्यता दिन माग गरेका छन् ।

न्हू दँया भिंतुना नेपाल संवत् ११४४ को  अवसरमा नेवाः पासा मुना पुचः बिर्तामोड र नेवाः देय् दवु बिर्तामोड नगर समितीले आयोजना गरेको संयुक्त शुभकामना आदन प्रदान कार्यक्रममा  सहभागी उनीहरुले यस्तो माग गरेका हुन् ।

नेवाः पासा मुना पुचः बिर्तामोडका अध्यक्ष दिनेश श्रेष्ठ  र नेवाः देय् दवु बिर्तामोड नगर समितीका अध्यक्ष छत्रबहादुर श्रेष्ठको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेवाः देय् दवु बिर्तामोड नगर समितीका वरिष्ठ उपाध्यक्ष रत्नकुमार श्रेष्ठले स्वागत गरेका थिए । 

 बिर्तामोडस्थित नेवा छेः मा भएको कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौलाले नेवारी समुदायको मौलिक संवत् न्हू दँया भिंतुना नेपाल संवत् ११४४ राष्ट्रिय संवत् भएको बताउँदै नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न सरकारले मुख्य भुमिका निभाउनुपर्ने जनाए।

  नेवाः पासा मुना पुचः बिर्तामोडका पूर्व अध्यक्ष श्यामकुमार ताम्राकार, नेवाः पासा मुना पुचः बिर्तामोडका पूर्व अध्यक्ष तथा नेवाः देय् दवुका पूर्व केन्द्रीय उपाध्यक्ष कृष्ण उदास, नेवाः पासा मुना पुचः बिर्तामोडका सल्लाहकार  तथा नेवाः देय् दवुका केन्द्रीय पार्सद गणेश शाक्यलगायतले शुभकामना मन्तव्य राख्दै राष्ट्रिय विभुती शंखध्वर शाख्वाको योगदानको कदर गर्दै नेपालमा नेपाल संवत्को सुरुवात भएकाले नेपाल संवत्लाई कामकाजी रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले नेपाल संवत्‌‌लाई राष्ट्रिय संवत्‌‌को रुपमा  व्यावहारिक रूपमा कार्यान्वयन गर्न बुद्धिजीवी र सरोकारवाला सबैलाई  आग्रह गरे । 

कार्यक्रममा नेवाः पासा मुना पुचः बिर्तामोडका पदाधिकारी, नेवाः देय् दवु बिर्तामोड नगर समितीका पदाधिकारी, नेवारी विभिन्न संस्थाका पदाधिकारीसहित नेवारी समुदायको सहभागिता रहेको थियो । 

नेवाः पासा मुना पुचः बिर्तामोडका सदस्य तारामणी श्रेष्ठ संयोजक र नेवाः देय् दवु बिर्तामोड नगर समितीकी कोषाध्यक्ष मनकुमारी श्रेष्ठ सह संयोजक रहेको कार्यक्रमको सञ्चालन नेवाः देय् दवु बिर्तामोड नगर समितीका सचिवहरु दिलिप प्रधान र जीवन श्रेष्ठले गरेका थिए ।

कार्यक्रम पछि  लाखेनाचसहितको भिन्तुना र्‍यालीले बिर्तामोड नगर परिक्रमा गरेको नेवाः पासा मुना पुचः बिर्तामोडका कार्यालय सचिव सञ्जय श्रेष्ठले जानकारी दिए ।