बिर्तामोड। पछिल्लो समय तिहारमा देउसी खेलेर दक्षिणा (पैसा) संकलन गर्ने क्रम बढेर गएको छ ।

तिहारमा विभिन्न संघ–संस्था वा समूह आधुनिक एवम् पाश्चात्य गीत, संगीत पस्कँदै देउसीभैलो खेलेर दक्षिणा (पैसा) संकलन गरिरहेका छन् ।

उनीहरुको उद्देश्य बढीभन्दा बढी दक्षिणा (पैसा) संकलन गरेर आपसमा बाँडीचुँडी लिने वा पिकनिक गएर सिध्याउने हुन्छ । तर, साहित्य चौतारी झापाले भने यसवर्ष दक्षिणारहित सामुहिक सडक देउसी खेलेर समाजमा उदाहरणीय कार्य गरेको छ ।

 तिहारमा खेलिने देउसी दक्षिणाकै लागि खेलिने परम्परालाई तोड्दै  साहित्य चौतारी झापाले २०५८ सालदेखि हरेक वर्ष गोवद्र्धन पूजाको दिन बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण)मा दक्षिणारहित सामुहिक सडक देउसी खेलिँदै आएको साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले बताए ।

 साहित्य चौतारी  झापाको २५ औं रजत वर्ष उत्सवको अवसरमा  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती ,नेपाल सम्वत ११४४ र म्ह् पूजा र तिहार विशेष शुभकामना आदानप्रदानसहित  दक्षिणारहित सामुहिक सडक देउसी खेलिएको बताउँदै उनले दक्षिणाकै लागी देउसी खेलिने परम्पराको अन्त्य गर्दै साहित्य, कला, संगीत ,भाषा, संस्कृति, परम्परासहित पूवर्ज (अग्रज)हरुको परम्परा र संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै युवा तथा भावी पुस्तालाई  पुस्तान्तरण गर्दै निरन्तरता दिने उद्देश्यले दक्षिणारहित सामुहिक सडक देउसी खेलिएको जानकारी दिए । 

बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण)मा साहित्य चौतारी झापाका अध्यक्ष हस्त परियारको अध्यक्षता तथा  साहित्यकार सरोज ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सल्लाहकार तथा कार्यक्रम संयोजक  कृष्ण पौडेलले स्वागत गरेका थिए भने सहभागीले साहित्य  चौतारीको स्वागत गान प्रस्तुत गरेका थिए ।

प्रमुख अतिथि साहित्यकार सरोज ओलीले व्यानर पढेर दीप प्रज्जवलन गरी अर्जुनधारा धामका गुरु हेमन्त भण्डारीले स्वस्ती बाचनसहित संस्थाका मानार्थ सल्लाहकार साहित्यकार कोमलप्रसाद पोखरेलले ‘देउसिरे’को अर्थ बताउँदै भट्टयाउन सुरु गरेर बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण) बाट देउसी भैलो टोली अघि बढेको थियो ।

नेपाली मौलिक भेषभूषा र नौमती बाजागाजासहित साहित्य चौतारी झापाका पदाधिकारी , प्रमुख अतिथि साहित्यकार ओली, संस्थाका मानार्थ सल्लाहकार साहित्यकार पोखरेल, मानार्थ सल्लाहकार  प्रशिद्ध संगीतकार जीवन अधिकारी, साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ तथा उर्मिला विमली, श्रेष्ठ , सह संरक्षक गौरव श्रेष्ठ , आख्यानकार पुण्यप्रसाद खरेल, विर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र नेउपाने, सल्लाहकार साहित्यकार भवानी क्षेत्री,लोकनाथ पौडेल, राजेन्द्र संग्रौला, अनिरुद्र ओली, साहित्यकारहरु डा.पुण्यप्रसाद सिग्देल, जानुका गुरागाई, विनोद खनाल, गोपीकृष्ण भट्टराई, रश्मिशेखर सुवेदी, डिल्लीराम परदेशी, मिना अधिकारी, इन्दिरा कुसुम, पूर्णचन्द्र विवश,एनवि दाहाल,  हरि काफ्ले, सुनीता खरेल, हेमकला कट्टेलका हरि ओझा,  तुलसीप्रसाद निरौला, कृष्ण हुमागाईं, राम रोक्का, लीलानाथ भट्टराई, कञ्चनजङ्घा आवासीय विद्यालयका प्राचार्य गुरुभक्त नेउपाने,  आर्ट स्टुडियोको नौमती बाजा समूह, सप्तक सङ्गीतालय परिवार, होटल हिकोला हेरिटेज परिवार, विभिन्न संस्थाका पदाधिकारी , सञ्चारकर्मीलगायतको टोलीमा सहभागिता रहेको थियो । बिर्तामोडको मुक्तिचोकस्थित दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण)बाट कन्काई चोक, त्यसपछि अन्धुवाखोला पुलसम्म सडकमा देउसी खेलेर पुनः दुर्गा मन्दिर परिसर (साहित्य चौतारीको काव्य प्राङ्गण)मा आएर सप्तक सङ्गीतालयका कलाकारहरुले  नृत्य प्रस्तुत गरेका थिए । 

कार्यक्रममा साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ , मानार्थ सल्लाहकार प्रसिद्ध संगीतकार जीवन अधिकारीले साहित्य चौतारी झापाले दक्षिणारहित सामूहिक सडक देउसी खेलेर मौलिक संस्कृतिको जर्गेना गरेको बताए ।

सोही कार्यक्रममा  महाकवि लक्ष्मीप्रसाद देवकोटाको १५५ औँ जन्म जयन्ती ,नेपाल सम्वत ११४४ र म्ह् पूजा र तिहार विशेष शुभकामना आदानप्रदान समेत गरिएको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका का.वा. सचिव देवीचरण भण्डारीले गरेका थिए ।