बिर्तामोड ।नेपाल मधेसी समाज सेवा समितिको आयोजनामा बिर्ताबजारस्थित अन्धुवा खोलामा छठ पूजा सम्पन्न भएको छ ।

नेपाल मधेसी समाज सेवा समितिले बिर्ताबजारस्थित अन्धुवा खोलालाई सरसफाई गरी व्यवस्थित घाट निर्माण गरिदिएपछि  बर्तालुले आइतबार साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर तथा सोमबार बिहान उदाउँदो सूर्यलाई जलाशयमा उभिएर अघ्र्य दिएर छैठी देवीको पूजा गरेर छठ पर्व मनाएका छन् । 

नेपाल मधेसी समाज सेवा समितिले  यस वर्ष  सरसफाई गरी खोलाको दुवैपट्टी १०१ वटाका दरले २०२ वटा स्टल (पण्डाल) निर्माण गरेकोमा १४० वटा घाटमा छठ पूजा भएको मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले बताए । एउटा स्टलमा दुईवटा डाला राखिएको उनको भनाइ छ ।

आइतबार साँझ एक कार्यक्रमका बीच छठ पूजाको उद्घाटन गरिएको थियो । मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलको अध्यक्षता तथा कोशी प्रदेशका साँसद एकराज कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा छठ पूजा कार्यक्रम संयोजक संजयकुमार शर्माले स्वागत गरेका थिए ।

कार्यक्रममा बिर्तामोड –३ का वडाध्यक्ष मदन बुढाथोकी, नेपाली काँग्रेस बिर्तामोड नगर सभापति भोजराज सिटौलालगायतले शुभकामना मन्तव्य राख्दै बिर्ताबजारस्थित अन्धुवा खोलालाई सरसफाई गरी छठ पूजा गराउने प्रतिवद्धता जनाएका थिए । 

कार्यक्रममा ज्येष्ठ नागरिकहरु शान्तीदेवी शाह, गंगाप्रसाद शाह, राजकुमारी शाह, रामदेव शहनीलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

छठ पूजामा सहभागी श्रद्धालु भक्तजनहरुलाई मधेसी समाज सेवा समितिले निः शुल्क चिया, दुध बितरण गरेको थियो भने रोट्रयाक्ट क्लव अफ बिर्तामोड, अनारमनी सोसियल युथ क्लब, युनाइटेड युथ क्लब, काजी व्याङ्क्वेट, धौला इञ्जिनियरिङलगायतले निःशुल्क पानी बितरण गरेको रोट्रयाक्ट क्लव अफ बिर्तामोडका प्रेसिडेन्ट बाप्पा शाहले बताए ।

पानीको सौजन्य लाइफ केयर वाटरले गरेको प्रकाश महतोले बताए । विविध साँस्कृतिक प्रस्तुति भएको कार्यक्रमको सञ्चालन सन्तोष दासले गरेको मधेसी समाज सेवा समितिका सचिव शम्भु शाहले जानकारी दिए ।