बिर्तामोड । पछिल्लो समय युवायुवती विदेसिने क्रम बढेर गएको छ । चाहे अध्ययन गर्न होस् या आर्थिक स्तर उकास्न लाखौं रुपैयाँ खर्च गरेर विदेसिने युवायुवतीको संख्या अधिक छ । तर, पनि आफ्नै ठाउँमा केही गर्न खोज्ने युवायुवती पनि यहीं रहेका छन् । यसको पछिल्लो उदाहरण बनेकी छिन् झापा बिर्तामोड –५ की एञ्जिला भट्टराई ।

उनले झापाको बिर्तामोड –५ मायादेवी कम्प्लेक्समा द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएर आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उदाहरण पेस गरेकी हुन् ।

द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टरको एक कार्यक्रमकाबीच शनिबार उद्घाटन गरिएको छ । भट्टराईकी हजुरआमा मायादेवी भट्टराई, वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल ढकाल, वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीलगायतले द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टरको उद्घाटन गरेका हुन् ।

पछिल्लो समय कफी पारखी बढेकाले आफूले द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टर सञ्चालनमा ल्याएको सञ्चालिका एञ्जिला भट्टराईले बताइन् । द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टरमा ६२ प्रकारका अग्र्यानिक र गुणस्तरीय हट तथा कोल्ड कफीको स्वाद लिन पाउने उनको भनाइ छ ।

बारिष्टा ट्रेनिङ लिएर विदेशमा काम गर्न जाने तथा स्वदेशमै रहेर कफी सम्बन्धी काम गर्न चाहनेहरुका लागी बारिष्टा ट्रेनिङ उपलव्ध गराइने बताउँदै उनले बारिष्टा ट्रेनिङको मुख्य प्रशिक्षकमा विदेशमा १४ वर्षसम्म कफीको क्षेत्रमा काम गरेको अनुभव बटुलेका श्याम भट्टराई रहेको जनाइन् ।

बारिष्टा ट्रेनिङ लिएर विदेशमा काम गर्न जाने तथा स्वदेशमै रहेर कफी सम्बन्धी काम गर्न चाहनेहरुका लागी सम्पूर्ण र प्रयोगात्मक रुपमा बारिष्टा ट्रेनिङ उपलव्ध गराइने प्रशिक्षक श्याम भट्टराईले बताए । बारिष्टा  सम्बन्धी पूर्ण ज्ञान नहुँदा धेरै युवाहरुले विदेशमा दुःख पाउने गरेको बताउँदै उनले द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टरमा विद्यार्थीलाई विभिन्न ९ प्रकारका कोर्ष सिकाइनुका साथै दानादेखि कपसम्म पुर्याउने सीप सिकाइने जनाए । 

४० लाख रुपैयाँ भन्दा बढीकोे लगानीमा सञ्चालनमा आएको द शिप सट कफी सप तथा बारिष्टा ट्रेनिङ सेन्टरमा  हाल दुई जनाले रोजगारी समेत पाएको सञ्चालिका एञ्जिला भट्टराईले बताइन् ।

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई र वीरता लेडी जेसीजमा आवद्ध सुमित्रा बस्नेत भट्टराई पनि आफ्नी छोरी एञ्जिला व्यवसायिक क्षेत्रमा लागेकोमा खुशी छन् ।

अहिलेको युवापुस्ता विदेसिने मोहका कारण लाखौ रुपैयाँ खर्च गरेर विदेसिने गरेकोमा आफ्नै भूमिमा केही गर्नुपर्छ भन्ने उद्धेश्यले  व्यवसायिक क्षेत्रमा युवापुस्ता प्रवेश गर्नु सकरात्मक भएको नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराई बताउँछन् । आफूहरुले असल संस्कार दिएकै कारण छोरी एञ्जिला व्यवसायिक क्षेत्रमा लागेकोमा आमा सुमित्राले खुशी व्यक्त गरिन् ।