बिर्तामोड । साहित्य चौतारी झापाका संस्थापक संरक्षक देविभक्त श्रेष्ठ, साहित्य चौतारी झापाका सम्मानित प्रतिभाहरु सुमित्रा वाङदेल (चेली) र बिवश बलिभद्र कोईरालालाई बिर्तामोडमा सम्मानित गरिएको छ ।

‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्गर्तत  स्वीकारोक्ति फाउण्डेसनले बिर्तामोडमा आयोजना गरेको एजुकेशन समिट तथा साहित्यिक कार्यक्रममा उनीहरुलाई स्वीकारोक्ति सम्मान अर्पण गरिएको हो ।

स्वीकारोक्ति फाउण्डेसनका अध्यक्ष डेन्जोङ साम्पाङ राईको अध्यक्षता तथा साहित्यकार विप्लप प्रतिकको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वीकारोक्ति फाउण्डेसनका अभियन्ता पातलो अन्तरेले स्वागत गरेका थिए । साहित्यकार खगेन्द्रा खुशीले स्वागत कविता वाचन गरेको कार्यक्रममा प्रा.डा.टंक न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए ।  

झापाको बिर्तामोडस्थित बिर्ता पार्टीप्यालेसमा भएको कार्यक्रममा कवि नवराज पराजुली, गजलकार प्रदीप रोदन , गायक पुष्पन प्रधान लगायतले आफ्नो प्रस्तुति मार्फत दर्शकलाई मन्त्रमुग्ध बनाएका थिए ।

कार्यक्रमको सञ्चालन पत्रकार महासंघ झापाका उपाध्यक्ष केशव भट्टराईले गरेको ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’का इभेन्ट कोअर्डिनेटर अर्जुन उप्रेतीले जानकारी दिए ।

यस अघि बिहान भएको एजुकेशन समिट अन्तर्गत बिर्तामोडका ५० भन्दा वढी निजी विद्यालयका ३ सय जना विद्यार्थीहरूसँग अन्तरक्रिया गरिएको ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’का इभेन्ट कोअर्डिनेटर अर्जुन उप्रेतीले जानकारी दिए ।

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरबाट सोमवारदेखि शुरु भएको  ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्गर्तत बिर्तामोडमा उक्त कार्यक्रम गरिएको उप्रेतीले बताए । 

 ‘अस्तित्वहरुको न्यायिक सम्बोधन’ भन्ने मूल विचार र मान्यता बोकेर मानव चेतना अभिवृद्धिको निम्ति सञ्चालित स्वीकारोक्ति फाउण्डेसनले  आफ्नो ११ औं वार्षिकोत्सवका अवसरमा खुसी, शान्ति र सद्भाव फैलाउने उद्देश्यका साथ ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अभियान शुरु गरेको स्वीकारोक्ति फाउण्डेसनका अध्यक्ष डेन्जोङ साम्पाङ राईले जानकारी दिए ।

स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्तरगत नेपाल र भारतको विभिन्न स्थानहरूमा स्वीकारोक्ति दर्शन सम्बन्धी बहस, छलफलहरू ,वृक्षरोपण, अनुदान,  र विद्यार्थीहरूसँग अन्रक्रिया समेत गरिने उनले बताए ।

‘स्वीकारोक्ति विश्व यात्रा २०२३’ सुरु हुनु भन्दा अगाडि  वातावरण संरक्षण तथा शान्तिको सन्देश प्रवाह गर्न करिब एक सय भन्दा बढी साइकल यात्रीद्वारा काठमाडौँको विभिन्न स्थानहरूमा परिक्रमा गरि सद्भाव र्याली सम्पन्न गरिएको  साथै सडक पेटिमा भोकै सुतेका करिब एक सय ३० जना असहायलाई खाना समेत वितरण गरिएको अन्तराष्ट्रिय समन्वय तथा कार्यक्रम योजना प्रमुख कर्ण गुरुङले जानकारी दिए ।

झापा, सुनसरी, मोरङ, इलामलगायत नेपालका विभिन्न स्थान हुँदै भारतको आसाम राज्यको गुहाटी, सिक्किमको गान्तोक र दार्जिलिङको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर पुनः काठमाडौँमा आगामी  मंसिर २८ र २९ गते निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन काठमाडौँसँगको सहकार्यमा दुईदिने साहित्यिक तथा युवा शैक्षिक शिखर सम्मेलनपछि यात्राको समापन हुने ग्लोबल टुरका कोअर्डिनेटर अर्जुन उप्रेतीले बताए ।

काठमाडौँमा हुने दुई  दिने साहित्य तथा युवा शैक्षिक शिखर सम्मेलनमा  प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्य रहने छ । ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’ अन्गर्तत आसाम राज्यको गुहाटीमा हुने कार्यक्रममा  नेपाली साहित्यका वरिष्ठ व्यक्तित्व लीलबहादुर क्षेत्रीलाई छ लाख रुपैयाँ राशीको  ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ हस्तान्तरण गरिने अन्तराष्ट्रिय समन्वय तथा कार्यक्रम योजना प्रमुख कर्ण गुरुङले जानकारी दिए ।

स्वीकारोक्ति फाउण्डेसनले  ‘स्वीकारोक्ति विश्व शान्ति यात्रा २०२३’अभियान अन्तरगत २०२३ मा नेपाल र भारतका बिभिन्न स्थानको भ्रमण र बिभिन्न कार्यक्रम गरे पश्चात २०२४ मा अमेरिका, क्यानाडा र २०२५ मा युरोपका १० वटा देश गर्दै क्रमश विश्व भ्रमणसहित बिभिन्न कार्यक्रम गर्ने उनको भनाइ छ  ।  गैरराजनीतिक, गैरधार्मिक, गैरनाफामुखी रहेको स्वीकारोक्ति फाउन्डेसनले वातावरण संरक्षण गर्दै शान्तिको सन्देश प्रवाह गर्नेछ ।