बिर्तामोड ।   झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माणाधिन  झापा नाटक घरमा गत माघ १० गतेबाट मञ्चन भइरहेको नाटक रिफण्डले सबैको मन जितिरहेको छ । 

क्षितिज नाट्य प्रतिष्ठान झापाको अगुवाईमा कोशी प्रदेश कै ऐतिहासिक धरोहरका रुपमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा माघ १० गते बुधबारबाट  मञ्चन भइरहेको नाटक रिफण्डले सबै प्रकारका र सबै उमेरका दर्शकको मन जित्न सफल भएको हो ।

नाटक रिफण्ड हेर्न पुगेका दर्शकहरुले नाटक रिफण्ड ज्ञानवद्र्धक रहेको बताउँदै शुल्क तिरेर नाटक हेरेपनि पैसाको सही सदुपयोग भएको बताए ।

नाटक रिफण्ड हेर्न पुगेका कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुली , साहित्यकार सत्यनारायण तायललगायतले नाटक रिफण्ड समयसापेक्ष नाटक भएको बताए । नाटक हेर्न आएका विभिन्न स्कूलका प्रिन्सिपल,प्राचार्य ,शिक्षकहरुले नाटकले विद्यार्थीहरुलाई सैद्धान्तिक भन्दा व्यवहारिक र जीवनोपयोगी शिक्षा दिनुपर्ने सन्देश दिएको बताए । 

मोरङ्गको विराटनगरस्थित नाम्लो नाट्य समूह,झोराहाट नाट्य समूह र क्षितिज नाट्य प्रतिष्ठानको साझेदारीमा  झापा नाटक घरमा  प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक रिफण्ड दैनिक चार वटा सो मञ्चन भइरहेको क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका अभियान्ता तथा परिकल्पनाकार ,रंङ्गकर्मी माधव कल्पितले जानकारी दिए ।

सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर विगत ४ बर्ष अघिबाट बहुजातीय साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण कार्यमा जुटेको क्षितिज नाट्य प्रतिष्ठानले हाल सम्ममा २ करोड ७३ लाख ६० हजार मुल्य बराबरको नाट्य कला मन्दिर निर्माण गरिसकेको र कोशी प्रदेशकै पहिलो बहुजातीय साँस्कृतिक संग्रहालय निर्माणका लागि १सय ४५ धुर जमिन जुटाउन सफल भएको उनले बताए ।

अब सोही जमिनमा २५ अर्ब लागतको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालय  निर्माण गरिने प्रारम्भिक स्टमेट भइरहेको उनको भनाइ छ । झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको  झापा नाटक घरलाई पूर्णता दिन र बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालय निर्माणका लागी आर्थिक सहयोग जुटाउन झापा नाटक घरमा नाटक रिफण्ड मञ्चन गर्नुपरेको उनले बताए । झापा नाटक घरमा पहिलो पटक मञ्चन नाटक रिफण्डबाट करिव २० लाख संकलन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ ।

झापाको बिर्तामोड–१ देवी पञ्चकन्या उत्तरमा निर्माण भइरहेको बहुभाषी, बहुजाति, बहुसांस्कृतिक संग्रहालयसहितको झापा नाटक घरमा पहिलो पटक नाटक रिफण्ड मञ्चन गरी यसलाई सफल बनाउन क्षितिज साहित्य प्रतिष्ठान झापाका सचिव ताराप्रकाश भट्टराईको संयोजकत्वमा  तीन सदस्यीय नाटक मञ्चन ब्यबस्थापन समिति गठन गरिएको छ । 

 कक्षा ११ को अनिवार्य अंग्रेजी  पाठ्यक्रममा प्रसिद्ध हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिद्वारा लिखित नाटक रिफण्ड समावेश भएकाले यसलाई मञ्चन गरी अझ प्रस्ट्याउन सहज बनाउन  झापा नाटक घरमा पहिलो पटक नाटक रिफण्ड मञ्चन गरिने नाटक रिफण्ड मञ्चन ब्यबस्थापन समितिका संयोजक प्राध्यापक ताराप्रकाश भट्टराईले बताए । उनले नाटक रिफण्ड विद्यार्थी ,शिक्षक तथा अभिभावक सवैले अनिवार्य हेर्नुपर्ने भएको बताउँदै झापा नाटक घरमा आएर एकपटक नाटक रिफण्ड हेरिदिन आग्रह गरे । 

नाट्य निर्देशक सुदिपजंग कार्कीले निर्देशन गरेको नाटक रिफण्डमा सुरज माझी,दीक्षा चौधरी ,वन्वो सन्तोष , प्रज्वल भट्टराई , प्रदिप दाहल ,विवेक मिश्र र सुदिपजंग कार्कीको अभिनय रहेको छ । नाटकमा लाईट सुशील कार्कीले समायोजन गर्ने र म्युजिक सञ्जय मुडियारीको रहेको छ । एक घण्टाको रहने नाटकले शिक्षामा देखिएको बेतिथीलाई व्यङ्गात्मक ढंगबाट चित्रण गरिएको नाटकका निर्देशक सुदिपजंग कार्कीले बताए । 

झापा नाटक घरमा  माघ १० गतेबाट  नाटक रिफण्ड विहानको ८ः३०, ११ः३०, दिउँसोको २ः३० र अपरान्हको ४ः३० बजे मञ्चन भइरहेको नाटक रिफण्ड मञ्चन ब्यबस्थापन समितिका संयोजक ताराप्रकाश भट्टराईले बताए । उनले नाटक रिफण्ड हेरिदिएर सहयोग गर्न सबैलाइृ आग्रह गरे ।