बिर्तामोड । झापा बिर्तामोड –७ का वृद्धवृद्धा औधी खुशी भएका छन् । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको  सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मिष्ठान्न भोजनसहित व्ल्याङकेट बितरण गरेपछि उनीहरुमा खुशीयाली छाएको हो ।

जाडोको समयमा ओड्नेको अभावमा कष्टकर जीवन विताउँदै आएका बिर्तामोड –७ का दुई सय ४० जना वृद्धवृद्धालाई सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले मिष्ठान्न भोजनसहित व्ल्याङकेट बितरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

उनले बृद्धबृदा भनेका ज्यूँदा तीर्थ भएकाले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धालाई  मिष्ठान्न भोजनसहित व्ल्याङकेट बितरण गरेको जनाए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा  स्वागत बिर्तामोड –७ का वडाध्यक्ष अविरल कृष्ण खरेलले गरेका थिए । 

कार्यक्रममा संस्थाको बस्तुस्थिति तथा गतिबिधिसहित कार्यक्रमको औचित्यमाथि प्रकाश संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले पारेका थिए । उनले “एक घर एक सदस्य अभियान ः सिम्रिक सफलताको हाम्रो पहिचान” भन्ने नारासहित २०६७ सालमा स्थापना भएको सिम्रिक साकोसले शेयर सदस्यको सुखदुःखमा संधै साथ दिँदै आएको बताए ।

सिम्रिक साकोसमा आवद्ध तथा अन्य बृद्धबृदाहरुलाई जाडोको समयमा न्यानो बनाउन तथा एकदिन भएपनि मिष्ठान्न भोजन गराएर उनीहरुको मुहारमा खुशी ल्याउन वृद्धवृद्धालाई  मिष्ठान्न भोजनसहित व्ल्याङकेट बितरण गरेको बताउँदै उनले यसअघि बाह्रदशी–१ को भागुडुव्वा  र बिर्तामोड–६ बुट्टाबारीका वृद्धवृद्धालाई  मिष्ठान्न भोजनसहित व्ल्याङकेट बितरण गरेको र त्यसैको निरन्तरता स्वरुप बिर्तामोड –७ का वृद्धवृद्धालाई  मिष्ठान्न भोजनसहित व्ल्याङकेट बितरण गरेको जनाए ।

उनले शेयर सदस्यसहित अन्य व्यक्तिलाई स्वास्थ्य सेवा पुर्याउन कचनकवलमा स्वास्थ्य शिविर ,  बिर्तामोड –१०मा रहेको बिराट आधारभुत विद्यालयको पुस्तकालयलाई पुस्तक बितरण गरिएको बताउँदै चाँडै पाँचथरका वृद्धवृद्धालाई  मिष्ठान्न भोजनसहित व्ल्याङकेट बितरण र बिर्तामोडका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिने जानकारी दिए । 

उनले सिम्रिक साकोसमा दुई सय रुपैयाँमा खाता खोलेर मासिक एक हजार नियमित बचत गरे विभिन्न अस्पतालहरुमा ज्येष्ठ सदस्यको उपचारमा छुट र सहयोग उपलव्ध गराइने बताउँदै सिम्रिक साकोसमा खाता खोल्न आग्रह गरे ।

कार्यक्रममा प्रमुख अतिथि सभामुख देवराज घिमिरे, कोशी प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, सुन्दर निचाझोडा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष बद्री प्याकुरेललगायतले शुभकामना मन्तव्य राख्दै सिम्रिक साकोसले गरेको कार्यको प्रशंसा गरेका थिए ।

बिर्तामोड–७  स्थित शहीद नेत्रपार्कमा भएको कार्यक्रममा बिर्तामोड वडा नम्बर ७ र सुन्दर निचाझोडा सामुदायिक बन उपभोक्ता समितिको आर्थिक सहयोग रहेको थियो ।

कार्यक्रमको सञ्चालन संस्थाका जोखिम विभाग प्रमुख विजय बस्नेतले गरेको आइटी विभाग प्रमुख विजय पाण्डेले जानकारी दिए ।