बिर्तामोड। बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति –३  झापाको आयोजनामा प्रथम झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्टको तयारी गरिएको छ । 

यही फागुन २ गतेदेखि १२ गतेसम्म बुद्धशान्ति–३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा प्रथम झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्ट हुने बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंले जानकारी दिए ।

उनले बुद्धशान्तिमा क्रिकेट खेलाडी उत्पादन गर्ने उद्धेश्यले बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति –३  झापाले झापा जिल्लाकै पहिलो झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्ट आयोजना गरेको बताउँदै यसलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

२०७९ साल मंसीर १० गते आफ्नी श्रीमती बर्खा खड्काको स्मृतिमा आपत विपतमा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्धेश्यले ५० लाख अक्षयकोष र २० लाख कार्यालय व्यवस्थापनका लागि गरेर ७० लाख रुपैयाँको अक्षयकोष राखेर बर्खा स्मृति प्रतिष्ठान स्थापना गरेको बताउँदै अध्यक्ष प्रसाईंले बर्खा स्मृति प्रतिष्ठानले विभिन्न सामाजिक कार्यहरू गर्दै आएको र यसपटक क्रिकेटको विकासका लागि झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्ट आयोजना गरेको जनाए ।

झापाका १५ वटै पालिकाका क्रिकेट खेलाडीको सहभागिता हुने झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्टका विजेताले नगद १ लाख, मेडल, ट्रफी, प्रमाणपत्र र उपविजेताले नगद ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र प्राप्त गर्ने उनले बताए ।

बिजेता प्रथमको प्रायोजन बर्खा स्मृति प्रतिष्ठानले गर्ने र उपविजेताको प्रायोजन इन्दिरा फाउण्डेशनले गर्ने बताउँदै उनले खेलमा प्लेयर अफ दि म्याचलाई २ हजार, फाइनलको दिन प्लेयर अफ दि म्याचलाई ५ हजार र प्लेयर अफ दि सिरिजलाई १० हजार पुरस्कार दिइने र त्यसको रकम पनि विभिन्न दाताहरुले गरेको जानकारी दिए । 

प्रथम झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्टलाई सफल बनाउन विभिन्न उपसमिति गठन गरिएको बताउँदै उनले प्रथम झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्ट उद्घाटनलाई विशेष बनाउँदै आगामी फागुन १२ गते हुने समापनमा गायिका आस्था राउतको साथमा साँगीतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरिने जानकारी दिए । 

बर्खा स्मृति प्रतिष्ठानका अध्यक्ष मदनकुमार प्रसाईंको अध्यक्षता तथा बुद्धशान्ति गाउँपालिकाका खेलकुद विकास समिति अध्यक्ष बुद्धशान्ति –३ का वडाध्यक्ष पर्शुराम चेम्जोङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रेम नेम्वाङले स्वागत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि  चेम्जोङ , इन्दिरा फाउन्डेसनका अध्यक्ष सुसन पाठक, बुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीले बर्खा स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रथम झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्ट सफल बनाउन लागीपर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा नेशनल क्रिकेट अम्पायर विनित बास्तोलाले प्रथम झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्टको नियमबारे जानकारी गराएका थिए । उनले प्रत्येक टीममा १५ जना खेलाडीहरु हुने र त्यसमध्ये ११ जना मुख्य खेलाडी र ४ जना बैकल्पिक खेलाडी रहने बताउँदै खेल टि–२० को नियममा खेलाइने बताए ।

यसैबीच प्रथम झापा जिल्ला अन्तरपालिका टि–२०  क्रिकेट टुर्नामेन्टको खेल तालिका चिठ्ठा मार्फत सार्वजनिक गरिएको छ । पोल ए र पोल बी गरी खेल तालिका सार्वजनिक गरिएको हो । पहिलो खेल कनकाई नगरपालिका र बाह्रदर्शी गाउँपालिका बिच ,दोस्रो खेल हल्दिबारी र गौरीगञ्ज गाउँपालिका,  तेस्रो खेल बुद्धशान्ति गाउँपालिका र मेचीनगरपालिका, चौंथो खेल झापा गाउँपालिका र गौरादह नगरपालिका, पाँचौ खेल शिवसताक्षी नगरपालिका र कमल गाउँपालिका, छैठौँ खेल भद्रपुर र दमक नगरपालिका, सातौँ खेल अर्जुनधारा र कचनकवल गाउँपालिकाबिच हुने र बिर्तामोड नगरपालिका भने बाईमा परेको गोकुल पौडेलले बताए ।

कार्यक्रमको सञ्चालन बर्खा स्मृति प्रतिष्ठानका सचिव मदन मगरले गरेका थिए  ।