बिर्तामोड ।  तपाई आफ्ना छोराछोरीलाई विद्यालय पठाउँदा व्यागमा पुस्तक हालेर पठाउनु हुन्छ होला । हुनेखाने अभिभावकहरुले राम्रो व्याग किनेर पठाउनुहुन्छ होला तर हुँदाखाने विपन्न अभिभावकहरुलाई पनि व्याग किन्ने रहर हुँदाहुँदै आर्थिक अभावले व्याग विना नै पुस्तक बोकेर विद्यालय पठाउनु पर्ने वाध्यता छ ।

तीनै हुँदाखाने विपन्न अभिभावकहरुको वाध्यतालाई चिर्दे  झापाको बिर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले विपन्न तथा सिमान्तकृत बिद्यार्थीलाई स्कुल ब्याग वितरण गरेर उनीहरुको राम्रो व्याग बोक्ने रहर पुरा गरिदिएको छ ।

सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १३ औं वार्षिकोत्सवको अवसर पारेर बिर्तामोड –९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका एक सय ८ जना र  भद्रपुर – ७ अञ्जनीमोडस्थित  भृकुटी आधारभूत बिद्यालयका  ६४ जना विपन्न तथा सिमान्तकृत बिद्यार्थीलाई स्कुल ब्याग वितरण गरेर उनीहरुको राम्रो व्याग बोक्ने रहर पुरा गरिदिएको हो।

प्रायःगरेर विपन्न वर्ग र अधिकांश आदिवासी समुदायका विद्यार्थी अध्ययनरत ती विद्यालयहरुमा संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत त्यहाँका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।

स्कुल व्यागको अभावमा हातमा पुस्तक बोकेर आउँदा पुस्तक पानिले भिज्ने, हावाले उडाउने समस्या भएको र कतिपय विद्यार्थीले विद्यालय छोड्ने अवस्था आएकाले उनीहरुको मुहारमा खुशी ल्याउन संस्थाले स्कुल ब्याग वितरण गरेको उनले बताए ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा  भद्रपुर नगरपालिकाकी उप–प्रमुख राधा कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष मेहरमान विष्टले स्वागत गरेका थिए । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सिम्रिक साकोस बालबालिकादेखि बृद्धबृद्धासम्मको सहारा बनेको बताए ।

उनले बालबालिकाको शैक्षिकउन्नयनका लागि स्कुल व्याग , शैक्षिक सामग्री बितरण गर्दै आइरहेको बताउँदै त्यसैको निरन्तरता स्वरुप भृकुटी आधारभूत बिद्यालयका  विपन्न तथा सिमान्तकृत बिद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको जनाए । उनले यो वर्ष १० हजार विद्यार्थीहरुलाई स्कुल व्याग , शैक्षिक सामग्री वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

 कार्यक्रममा भद्रपुर नगरपालिकाकी उप–प्रमुख राधा कार्की, भद्रपुर–७ का वडाध्यक्ष अभिषेक ढुङ्गानालगायतले सिम्रिक साकोसले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थिहरुलाई स्कुल ब्याग वितरण गरेकोमा खुशी व्यक्त गरे । सिम्रिक साकोसले गरेको कार्य अरु संस्थाका लागी उदाहरणीय भएको उनीहरुले बताए । 

सोही अवसरमा सिम्रिक साकोसले कसैको नजर नपरेको बिद्यालयमा आएर स्कुल ब्याग वितरण गरेको भन्दै भृकुटी आधारभूत बिद्यालयले सिम्रिक साकोसलाई सम्मानसमेत गरेको थियो ।

भृकुटी आधारभूत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्साल, निमित्त प्रधानाध्यापक बाबुराम उपाध्यय, शिक्षक प्रेमप्रसाद भट्टराईले सिम्रिक साकोसका अध्यक्ष सुवास भट्टराईसहितका पदाधिकारीलाई  सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमको सञ्चालन सिम्रिक साकोसका जोखिम बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए ।

सिम्रिक साकोसले यसअघि आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा बिर्तामोड –९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका एक सय ८ जना विद्यार्थीलाई स्कुल व्याग प्रदान गरेको थियो । संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा बिर्तामोड –९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेका थिए । 

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै समुदाय र शेयर सदस्यको हितमा संस्थाले काम गर्दै आएको बताउँदै यसअघि कचनकवल ४ बनियानीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिनुका साथै बाह्रदशी १ भागुडुब्बा, बिर्तामोड ६ र ७ का ज्येष्ठ नागरिकलाई ब्लांकेट वितरण गरिएको जानकारी दिए  ।

संस्थाका अध्यक्ष सुवास भट्टराईले सिम्रिक साकोसले बचत र ऋणको कारोवारसंगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए ।  कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड –९ का वडाध्यक्ष एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्लागाई, सामाजिक अगुवा विष्णुमाया अधिकारी कोइरालाले सिम्रिक साकोसले गरेको कार्यको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन सिम्रिक साकोसका जोखिम विभाग प्रमुख विजय बस्नेतले  गरेको आइटी विभाग प्रमुख विजय पाण्डेले जानकारी दिए ।